यस्तो छ नेपालमा बनेको यात्री मोटरसाइकल

काठमाडौं – आज नेपाली अटोमोवाइल क्षेत्रमा नै पहिलो पटक नेपाली युवाको डिजाइनमा आफ्नै मोटरसाइकल तयार भएको छ । साँझ केही मिडियाकर्मी र उद्यमी व्यवसायीहरुलाई यसको पहिलो झलक देखाउने तयारी भइरहेको छ ।

यस्तोमा नेपाली युवाहरुले कस्तो मोटरसाइकल बनाए भन्ने उत्सुकता जो कोहीमा हुनु स्वभाबिक हो । कम्पनीले उत्पादन गरेको मोटरसाइकलले पावरको हिसावले केटीएम ड्यूक ३९०, रोयल इन्फिल्डलगायत मोटरसाइकललाई जित्ने छ । यसका डिजाइनर तथा यात्रीका प्रमुख असिम पाण्डेका अनुसार यसमा लागेका हरेक पाटर्स प्रिमियम छन् भने यसको मुख्य आकर्षण डिजाइन र प्रिमियमनेस हो ।

हाइटेक इन्जिनियरिङ्ग रहेको ‘पी–०’ मोटरसाइकलको मूल्यभन्दा यसको उत्कृष्टता ठूलो विषय रहेको पाण्डेको दाबी छ ।

यसमा ३० किलोवाटको मोटर प्रयोग गरिएको छ । यो अहिले बजारमा रहेका अन्य इलेक्ट्रीक मोटरसाइकलको तुलनामा यसको पावर अत्यन्त धेरै रहेको छ । ४२ बीएच पावर र १२० एनएम टर्क प्रदान गर्ने यो मोटरसाइकल एक पटकको फुल चार्जमा २३० किलोमिटर चलाउन सकिन्छ ।

० देखि ६० किलोमिटरको स्पीड ४ सेकेन्डभन्दा कम समयमा भेट्टाउने यो मोटरसाइकलले ० देखि १०० किलोमिटरको रफ्तार ६ सेकेन्डभन्दा कम समयमा भेट्टाउन सक्छ । ‘यसको टप स्पीड १२० किलोमिटरमा हामीले लक गरेका छौं । यो भन्दा माथिको स्पीड यहाँ परिक्षण गर्ने स्थान भएन । यसले सहजै १४० किलोमिटरको रफ्तार भेट्टाउने थियो’, पाण्डेले दाबी गरे ।

यसमा ६ किलोवाट पर आवरको व्याट्री प्याक दिइएको छ भने यसमा ८ वर्षको वारेन्टि दिइएको छ । इभी टेक आइसी इन्जिनसँग प्रतिस्पर्धा गर्ने भएकाले यसमा उत्कृष्टता कसरी पाउने भन्ने विषयमा कम्पनीले काम गरिरहेको जनाएको छ ।

यसमा प्रयोग भएको लिथियम आयोन व्याट्री यही डिजाइन भएको हो भने यसको चार्जिङ लाइफसाइकल २००० पटक रहेको छ । यसलाई हामीले कोरियन कम्पनीसँग सम्झौंता गरेर काम गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले २०१८ मा काम सुरु गर्दा यो पहिलो प्रोजेक्ट थियो । पहिलो प्रोजेक्ट गर्दा हामीसँग भिजन बाहेक अन्य केही थिएन । त्यसैले पहिलो प्रोजेक्ट भएकाले यसको नाम नै प्रोजेक्ट जिरो राखिएको हो ।

Advertisement