दोलखाका किसान भन्छन्, मेहनत गरे अमेरिका यही

भीमेश्वर नगरपालिका रामकोट, दोलखाका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै वार्षिक २० लाख कमाउँछन् ।

किसान न्यौपाने १० रोपनी जग्गामा गोलभेँडा, लसुन, प्याज, आलु, काउली, सागपात लगायतको तरकारी उत्पादनमा तल्लिन छन्

न्यौपानेले दैनिक १२ घण्टा सम्म खेतबारीमै समय बिताउँछन् । यसो गर्दा उनले विदेशको भन्दा दोब्बर कमाइ गर्छन् । यही कारण आफूलाई विदेश जाने रहर नजागेको बताए । उनका अनुसार, ‘मिहिनेत गरे यही अमेरिकाभन्दा बढी कमाइ हुन्छ भने किन विदेश जाने ?’ उनले तरकारी खेतीबाट भएको आम्दानीले साढे दुई तलाको पक्की घर बनाएका छन् भने जमिन समेत जोडेका छन् ।

न्यौपाने भन्छन्, ‘वर्षमा आलु तीन पटक, गोलभेँडा दुई पटक र सागपात सधैंभरी उत्पादन गरेर बेचिरहेको छु । एक सिजनमा कम्तीमा छ लाख रुपियाँसम्म कमाइ हुने गरेको छ । तीन सिजनको तरकारी मैले बेच्दा कम्तीमा २० लाख जति त बचाउने गरेको छु ।’

उनी तरकारीमा विषादी प्रयोग गर्दैनन् । गाईभैँसी र कुखुराको गोठे मल प्रयोग गरेर आर्गनिक तरकारी उत्पादन गर्दा बजारमा उनले उत्पादन गरेको तरकारीको माग निकै बढी हुने गरेको छ ।

स्वदेशी उद्यमशीलतामा जोड दिऊँ, अर्गानिक खेतिमा बल गरौँ ।

Advertisement