निरन्तर ओरालो लागेको नेप्से ८ अंकले बढ्यो, लगानीकर्ता उत्साहित

काठमाडौं – बुधबार सेयर बजार सामान्य रुपमा उकालो लागेको छ ।

बजार निरन्तर ओरालो लागेर निराश भएका लगानीकर्ताहरु दुई दिन नेप्से उकालो लागेपछि उत्साहित भएका छन्। नेप्सेसँगै कारोबार रकम पनि बढेकोले आगामी दिनमा पनि बजारले सकारात्मक दिशा लिने विश्लेषण हुन थालेको छ।

बुधबार नेप्से परिसूचक ८.७३ अंक बढेर एक हजार १२४.४७ विन्दुमा पुगेको छ। बजार खुलेको केही समयपछि सामान्य सुधार भएको बाँकी समयमा करिब स्थिर रहेको नेप्से कारोबारको अन्तिम १ घण्टामा भने तिव्र गतिमा उकालो लागेको थियो। तर, बजार बढ्ने बित्तिकै बिक्रीकर्ता हाबी भएपछि अन्तिम समयमा नेप्से केही ओरालो लागेको थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.५२ अंक, फ्लोट इण्डेक्स ०.६७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक बढेर बन्द भएको छ। यस दिन १६९ कम्पनीको ३० करोड ८२ लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। यस साताको पहिलो कारोबार दिनदेखि नै यस इन्स्योरेन्सको १ करोडभन्दा बढीको कारोबार भइरहेको थियो। यस दिन इन्स्योरेन्सको २ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

दिनभर करिब स्थिर रहेको बजार २ बजेदेखि बढ्न थालेपछि नेप्सेमा चमक देखिएको हो ।

Advertisement