मोटरसाइकल ओभरटेक गरेको निहुँमा हेलमेटले हानेर युवकको हत्या

जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब चार सय मिटरको दूरीमा बिहान पौने ११ बजे भएको घटनाबारे जानकारी गराए पनि प्रहरी समयमै पुगेन

कञ्चनपुरमा एक समूहले मोटरसाइकल ओभरटेक गरेको निहुँमा युवकलाई कुटपिट गरी हत्या गरेको छ । भीमदत्त नगरपालिका–१८ गोबरैयामा बिहीबार बिहान दोधाराचाँदनीका २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेटले हानेर उनको हत्या गरेको हो ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब चार सय मिटरको दूरीमा पर्छ । सडकको दायाँबायाँ घरहरू बाक्लै छन् । सडकमा मानिसहरू आवतजावत गरिरहेको समयमा मोटरसाइकलमा सवार बाबुछोरामाथि सांघातिक आक्रमण भएको हो । तर, कुटपिट गर्नेलाई छुट्याउन कोही पनि आएनन् ।

प्रहरीले दीपकमाथि कुटपिट गर्ने चारजनासहित स्कुटी र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पन्तमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

बिहान घरबाट दीपक बाबु विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका थिए । गोबरैया क्षेत्रमा स्कुटी र मोटरसाइकलमा सवार चारजनाको समूहले दीपकलाई किन ओभरटेक गरेको भन्दै सांघातिक आक्रमण गरेको बाबु विशनले बताए । मोटरसाइकल रोकेर युवा समूहले एकाएक आक्रमण गरेका थिए । मरनासन्न अवस्थामा पुगेपछि उनीहरू मोटरसाइकल र स्कुटीमा चढेर फरार भएका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका पन्तको महाकाली अस्पताल लगिएको थियो । डाक्टरहरूले अस्पतालमा उपचार हुन नसक्ने भन्दै थप उपचारका लागि भारत रेफर गरेका थिए । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि आफन्तले फर्काएर ल्याएका थिए । पन्तको शव महाकाली अस्पतालमा राखिएको छ । पीडित परिवारले कुटपिट गर्ने सबैमाथि कारबाहीको माग गरेको छ ।

क्षणभरमै छोरा गुमाएपछि पन्त परिवारसहित छिमेकी शोकमा डुबेका छन् । प्रत्यक्षदर्शीका अनुसार दीपकलाई युवा समूहले हेलमेट र लाठीले कुटेको थियो । ‘महेन्द्रनगरदेखि दोधारा जाँदै थिएँ, गोबरैयानिर ५–६ युवकको समूहले ती युवकलाई कुटिरहेको थियो, मसँग महिला थिइन्, त्यही भएर मैले रोकिनँ,’ एक प्रत्यक्षदर्शीले भने, ‘अहिले मलाई पछुतो भइरहेको छ ।’ उनले आफूले ग्याङफाइट भएको ठाने पनि पछि एकोहोरो कुटपिट भएको थाहा पाएको बताए ।

Advertisement