अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

अर्घाखाँची – पश्चिम नेपालको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको यात्रुवाहक बस दिउँसो साढे तीन बजेतिर दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ।

दुर्घटनास्थलको पछिल्लो अवस्थाबारे बुधवार साँझ बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने, “यहाँ दुर्घटनास्थलमा घाइते तथा थप कसैको मृत्यु भएको छ कि भनेर स्थानीयबासी तथा सुरक्षाकर्मीले खोजीकार्य गरिरहेका छन्। हालसम्म १७ वटा शव पाइएको छ।”

घाइतेलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement