म गाउँमा जन्मिएको चेली हुँ, मैले के बिराए : अञ्जलि अधिकारी

काठमाडौं – “बोलमाया” गीतबाट रातारात चर्चामा आएकी मोडल अञ्जलि अधिकारी यतिबेला सामाजिक सञ्जालमा ट्रोलको सिकार बनिरहेकी छिन् ।

सन्दर्भ : चलचित्र “माया पिरिम” को गीतमा सलोन बस्नेत सँग अभिनय गरेपछि, उक्त गीत र चलचित्रको प्रमोसनको लागि केही युट्युव च्यानलमा अन्तर्वार्ता दिने क्रममा सवालको जवाफ सहि नदिएको भन्दै अञ्जली ट्रोलको सिकार बन्न पुगेकी हुन् ।

बोलमाया गीतमा जीवन्त अभिनय गरेर सबैको मनमा बसेकी अञ्जलि त्यसपछि “गलबन्दी” बोलको गीतले झन उनिलाई धेरै दर्शक सामु परिचित गराएको थियो , लोक दोहोरी गीतमै सबैभन्दा रुचाइएको गीतहरु मध्य अञ्जलि अभिनित बोल माया, र गलबन्दी पनि पर्दछ ।

अन्तर्वार्तामा प्रश्नकर्ताले सोध्छन् – तपाईंको रिसेन्ट रिलेशनशीप स्टाटस?

यसको उत्तरमा अञ्जली भन्छिन् – म स्टाटस त्यस्तो भन्दा पनि गीतहरु नै… हुन्छ नि एउटा मलाई तिम्रो मायाले बाँधिराख न टाइपको थोरै लेख्छु । मैले धेरै भिडियोको लिंकहरु नै शेयर गर्ने गर्छु ।

सामाजिक सञ्जालमा अञ्जलीले दिएको अन्तर्वार्ताको भिडियो जताततै छरपस्ट हुन थालेपछि उनले फेसबुक मार्फत प्रतिक्रिया समेत दिएकी छिन् ।

अञ्जलि लेख्छिन् :

बोल्दा बोल्दै प्रश्न नबुझेर अर्कै उत्तर दिए मैले के बिराए । रकेट को रफ्तारमा अंग्रेजी मिसिएको प्रश्न थियो म गाउंमा जन्मिएकी चेली प्रश्न नै बुझिन होला मैले के बिराए ? सुनेको थिए गल्ती नगरी कसरी मान्छे सफल हुन्छ त्यसैले गल्ती होला कि नहोला निर्धक्क बोलिदिए मैले के बिराए ?

अञ्जली ‘ट्रोल’ को शिकार भए पनि उनको समर्थन गर्दै यस्तो कमजोरी कहिलेकाहीँ हुने भन्दै सामान्य रुपमा लिन आग्रह गरेका छन् । यसलाई अञ्जलीले पनि रमाइलोका रुपमा लिएकी छिन् ।

पछिल्लो समय अञ्जली म्युजिक भिडियोमा निकै व्यस्त छिन् । उनले प्रकाश सपूतको गीत ‘गलबन्दी’ को म्युजिक भिडियोमा लजालु युवतीको भूमिकामा अभिनय गरेपछि झनै फ्यान कमाएकी छिन् ।

Advertisement