हामी क्यानडालाई आँप, कतारलाई स्याउ खुवाउन सक्छौं : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले क्यानडालाई आँप र कतारलाई नेपालकाे स्याउ खुवाउन सकिने बताएका छन् ।

नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘व्यवसायी पनि अब व्यावसायिक कृषिमा लाग्नुपर्छ, कृषिलाई व्यावसायकिरण गर्नुपर्छ । यसमा नोक्सान छँदैछैन, उद्योगमा भन्दा बढी नाफा कृषि व्यवसायमा छ । हामी क्यानडालाई आँप खुवाउन सक्छौं, कतारलाई स्याउ खुवाउन सक्छौं । अरु देशले यस्तो गर्न सक्दैनन् ।’

आफूले सानैदेखि पानी बेचे पैसा आउँछ भनेर सुनेको तर बूढो भइसक्दा पनि पानी बेच्न नसकिएको बताए । ‘पानी बेच्न सकिन्छ भनेर सुनियो मात्रै, पानी बगेको बग्यै छ, बेच्न सकिएन,’ उनले भने ।

ओलीले भने, ‘विगतमा कतिपय देशले धीमा गतिको प्रगति गरे किनकी उनीहरुसँग प्रविधि थिएन, प्रविधिको विकास पनि आफैंले गर्नुपर्यो । आज हामीसँग प्रविधि छ, त्यसैले धीमा विकास गर्ने छुट हामीलाई छैन । विगतको गति कम भयो भनेर अहिले कम्प्लेन गर्न पनि पाइँदैन ।’

व्यवसायीलाई सहजीकरण गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीले ओलीले भने, ‘उत्पादकत्व बढाउन जस्तो नीतिगत परिवर्तन गर्न जरुरी छ, भन्नुस् । कुन दफा, कुन व्यवस्था परिवर्तन गनुपर्ने हो, तोकेर भन्नुस् । ब्लाक एन्ड ह्वाइटमा गोलमटोल कुरा नगर्नुस् ।’

Advertisement