काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी महिलाले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् ।
उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे ।
आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।
एक अनलाइनले महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् ।
संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्