कम्युनिस्टहरु नेपालमा आफ्नै कारणले सकिँदैछन् : रामचन्द्र पौडेल

भक्तपुर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरु असफल भइसकेको र उनीहरुबाट नेपाल अघि बढ्न सक्दैन भन्ने तथ्य पुस्टि भइसकेको दाबी गरेका छन् ।केपी ओली नेतृत्वको सरकारले दुई वर्षको अवधिमै कम्युनिस्टहरु असफल भएको सावित गरेको उनको दाबी थियो ।

प्रजातन्त्र सेनानी स्व.जानकीप्रसाद कुइँकेलको १७औं स्मृतिसभालाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै पौडेलले नेपाली जनतामा कम्युनिस्टप्रतिको मोहभंग भइसकेको बताए ।

उनले समृद्धि ल्याउँछु भनी सपना देखाएको कम्युनिष्ट सरकारको पालामा भ्रष्टाचार र महंगीमात्रै बढेको बताए । ‘नेपाली जनतामा कम्युनिस्ट सरकारले चमत्कारै गर्ला भन्ने विश्वास थियो । समृद्धिको ठूलै सपना देखाइएको थियो । जनता सपनामा भुलेका पनि थिए’, नेता पौडेलले भने, ‘तर अहिले आएर त्यो झूट थियो, भूलभूलैया थियो भन्ने सावित भयो भयो ।’ उनले कम्युनिस्टले नेपाल नचल्ने र समृद्धि तथा सुशासनसमेत नआउने ठोकुवा गरे ।

नेता पौडेल कम्युनिस्ट आफ्नै कारण सकिन लागेको भन्दै कम्युनिस्टको अन्त्यबाट कांग्रेसले पनि पाठ सिक्नुपर्नेमा जोड दिए । कम्युनिस्ट सिद्धान्तमै कमजोरी रहेकैले नेपालमा पनि कम्युनिस्टहरु सकिने दिशा गएको उनको जिकिर थियो ।

‘कम्युनिष्ट सिद्धान्तमै कमजोरी थियो, विरोधाभाष र अन्तरद्वन्द्व थियो’, नेता पौडेलले थपे, ‘त्यसैले कम्युनिस्टहरु नेपालमा पनि आफ्नै कारणले सकिँदैछन्।’

Advertisement