धरानका नवीन र सुष्माको अन्तर्जातीय मागी विवाह

धरान – शनिबार र आइतबार धरानका एक नवविवाहित जोडी एकाएक अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो ।

कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायका बेहुलाबीच भएको मागी विवाह । बेहुला हुन्, हाल धरान उपमहानगरपालिका–१३ का नवीन राई । बेहुली धरान–१५ की सुष्मा कालिकोटे (विश्वकर्मा) । पुरातन नेपाली समाज र सोचको भाषामा भन्ने हो भने बेहुला कथित पानी चल्ने र बेहुली कथित पानी नचल्ने जात । यी दुई जातिबीचको बिहेवारीलाई अझै पनि नेपाली समाजले सहज रूपमा पचाउन सकेको छैन । तर नवीन र सुष्माले आधा दशक लामो चिनजान र प्रेमलाई सहज रूपमा विवाहमा परिणत गरे । उनीहरूको निर्णयलाई दुवैका परिवारले सहर्ष स्वीकार पनि गरे ।

प्रेम विवाह गरेका नवीनको परिवारले शुक्रबार साँझ सुष्माको माइतीघरमा पुगेर रितअनुसार ‘चोरको सोर’ (भगाएर बिहे गरेपछि रीत बुझाउने चलन) बुझाएको थियो । त्यसका लागि नवीनको तर्फबाट उनका जेठा दाजु भीम राई ज्वाला, भाउजू चन्द्र लावती, माइला दाइ सुदीप आफैं पनि साथीभाइसहित सुष्माको माइतीघरमा पुगेका थिए । दुवै पक्षबाट नवीन र सुष्माको निर्णयलाई स्वीकार गरी अनुमोदन भएपछि शनिबार साँझ केटा पक्षले टीकाटालो गरेर आफन्त, साथीभाइलाई ‘पार्टी’ दिएको थियो । नवीन र सुष्माबीच करिब सात वर्षअघिको चिनजान प्रेममा परिणत भएको थियो । उनीहरूमा यो र त्यो जात भन्ने कहिल्यै आएन । नवीन वैदेशिक रोजगारीमा पाँच वर्ष दक्षिण कोरिया गए । कोरिया जानुअघि नै उनले सुष्मालाई परिवारमा चिनजान गराए । नवीनको परिवारमा पनि कसैले नाइँनास्ती गरेनन्, सबैले दुवैलाई साथ दिए । ‘हामी साथी थियौ, पछि सम्बन्ध गाढा भयो,’ नवीनले भने, ‘परिवारबाट सबैको साथ पाइयो ।’

सुष्मालाई बुहारीका रूपमा सहर्ष स्वीकार गरेर भिœयाउनुमा नवीनको परिवार तथा अभिभावकको वामपन्थी विचार र पृष्ठभूमिले मुख्य भूमिका खेल्यो । उनीहरूको पुख्यौली घर सिरहाको मिर्चैयास्थित घुर्मीमा पर्छ । सिरहाको गाउँमा हुँदा पनि यो परिवारले कहिल्यै जातीय छुवाछूत र भेदभाव गरेन । सबैको लागि उनीहरूको घर खुला थियो ।

नवीनका पिता मादन राई पञ्चायतकालमा नै वामपन्थी राजनीतिमा थिए । वर्गीय मुक्तिको कुरा गर्थे । त्यसैले उनका लागि सबै मानिस समान थिए । कुसंस्कारविरुद्ध सधैं बोल्थे । २०३६ सालमा त उनी १८ महिना जेल पनि बसे । पिताकै पदचापमा हिँडे, नवीनका जेठा दाजु भीम राई ज्वाला पनि । उनी पत्रकारितासँगै मजदुरको राजनीतिमा सक्रिय छन् । हाल उनी जिफन्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय अध्यक्ष तथा नेकपा सुनसरी जिल्ला सचिवालय सदस्य हुन् । यो वामपन्थी पारिवारिक पृष्ठभूमिले गर्दा पनि यो परिवारमा बुहारी भित्रँदा जातले महत्व पाएन । नवीनको रोजाइ र निर्णयमा सबैले साथ दिए । ‘हाम्रो बुबा पनि लामो समय कुसंस्कारविरुद्ध र सामाजिक रूपान्तरणमा हिँडेका मान्छे, म आफैं पनि त्यही बाटोमा हिडिरहेको मान्छे,’ नवीनका जेठा दाइ भीम ज्वालाले भने, ‘भाइले सुष्मा बुहारीको विषयमा भन्दा सहर्ष स्वीकार ग-यौं । सामाजिक रूपान्तरणको कुरा बोलेर, भाषण गरेर मात्र हुँदैन, व्यवहारमा नै उतार्नुपर्छ भन्ने हामी कान्छा भाइ बुहारीको निर्णयबाट असाध्यै खुसी छौं ।’

Advertisement