ठगी रोक्न सादा पोशाकका ट्राफिक प्रहरी

बडा दशैँ, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्ड कायम गराउन आजदेखि ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना कार्यान्वयन थालेको छ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रण निम्ति ट्राफिक प्रहरी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त योजना लागू गरिएको महाशाखाले जनाएको छ। उपत्यकामा सवारी आवागमन सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए।

उनले यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न आग्रह गरेका छन्‌। ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन चनाखो भएको ट्राफिक प्रहरीले जनाएको छ। सादा पोशाकमै प्रहरी परिचालन गरि टिकट काउण्टरमा विशेष निगरानी गरिने, भीडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुनसक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले बताए।

मूख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोशाकमै प्रहरी परिचालन गरि टिकट काउण्टरमा विशेष निगरानी गरिने एसपी यादवले जानकारी दिए।

Advertisement