परिवारवाद भन्नु अन्यायः उनीहरु बन्दुक बोकेर लडाईमा हिडेका छन् : प्रचण्ड

काठमाडौंः नेकपा अध्यक्ष प्रचण्डले आफू कम्युनिष्ट पार्टी र आन्दोलनको हितका लागि पटक-पटक पद त्याग गरेको व्यक्ति भएको बताएका छन् ।

जनता टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले सुरुवातमा नेकपा अध्यक्ष केपी ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी बनेको भए पनि पछि आफूले नै त्यसो गर्दा सरकार अस्थिर भएको विश्लेषण हुने भएकाले ओलीले नै ५ वर्ष नेतृत्व गर्ने गरी सहमति गरिएको स्पष्ट पारे ।

प्रचण्डले आफू पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्दै आएको अनुभव सुनाए । छ । पछिल्लो समय पार्टीमा उत्पन्न विवादका कारण फुटको संघारमा पुगेको पार्टीलाई जोगाएर फेरि विधिमा प्रवेश गराउन सफल भएको उनले बताए । साथै त्यसमा अध्यक्ष ओली, वरिष्ठ नेताहरु र सचिवालयका सबै नेताहरुको उल्लेखनीय भूमिका रहेको बताए ।

आफूमाथि परिवारवादको आरोप लगाइनु अन्यायपूर्ण हुने प्रचण्डले बताए । आन्दोलन र क्रान्तिकालमा परिवारका सबै सदस्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रचण्डले आफ्नो परिवारका सदस्य आज कुनै पदमा पुग्ने वित्तिकै त्यसलाई परिवारवादसँग जोड्ने गरिएको गुनासो गरे ।

परिवारवादको कुराले आफूमाथि निकै ठूलो अन्याय भइरहेको महशुस हुने भन्दै प्रचण्डले अगाडि थपे, ‘आन्दोलन र क्रान्तिका बेलामा परिवारका सबै सदस्य छोरा, बुहारी, छोरी र श्रीमती सबै युद्धमा थिए । प्रकाशले बन्दुक बोकेको फोटो अहिले पनि देख्न सकिन्छ । त्यो फोटो खिचेको मात्र त होइन नि । मोर्चामै र जंगलमै हिँडेको चाहीँ नदेख्ने, अनि उसलाई कुनै सानो जिम्मा दिइयो भने ओहो परिवारवाद भन्ने यो कति भद्दा, अनैतिक र अन्यायपूर्ण छ, त्यत्तिकै बुझ्न सकिन्छ ।’

प्रचण्डले भरतपुर महानगरकी मेयर रहेकी छोरी रेणु दाहालको बारेमा टिकाटिप्पणी हुने गरेको प्रसंग उल्लेख गर्दै भने, ‘रेणु विभिन्न स्थानमा महिला संगठन बनाएर जनयुद्धको पक्षमा प्रचार गरेर हिँड्ने नेता मात्रै थिइनन्, जनयुद्धको पछिल्लो चरणमा आउँदा रोल्पा, रुकुमजस्ता ठाउँमा गएर नेतृत्व गर्ने एक कार्यकर्ता पनि थिइन अनि अहिले चुनाव लड्न जाँदा परिवारवाद ?’

जनयुद्धकै असरका कारण एक छोरी गुमाउनु परेको, छोराको मृत्यु भएको र परिवारमा अहिले पनि तनाव जारी रहेको भन्दै प्रचण्डले यस्ता आरोपले आफूलाई अचम्मित बनाउने गरेको दुखेसो गरे । प्रचण्डले भने, ‘म एउटा पीडा भोगिरहेको छु, फेरि पनि पार्टी, देश र जनताको निम्ति समर्पित भएर लागिरहेको छु । त्यहाँ सहानुभूतिका दुई शब्द त दिनु परेन अझ उल्टै परिवारवाद भन्ने कुरा चाँही मलाई साह्रै तल्लोस्तरको टिप्पणी लाग्छ ।’

Advertisement