वामदेवलाई राष्ट्रियसभा सदस्यमा पठाउने नेकपाको निर्णय

सत्तारुढ नेकपाले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफरिस गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।

गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो । सोही महिनाको २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी ओली सो निर्णयलाई अवज्ञा गरेका थिए भने पार्टीभित्र यही विषयमा विवादसमेत चर्किएको थियो ।

विवादकै कारण ओलीले संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिएका थिए भने अहिलेसम्म कसैको मनोनयन भएको थिएन ।

यस्तै कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।

Advertisement