सरकारका प्रवक्ताले गरे कुलमानलाई हटाउने संकेत

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुन: नियुक्ति नगर्ने संकेत गरेका छन् ।

मन्त्री खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नै फेरि नियुक्त गर्नेबारे मन्त्रिपरिषदमा छलफल नभएको बताएका छन्।

घिसिङको भदौ मसान्तमा कार्यकाल सकिँदैछ। उनको पुनर्नियुक्ति भएका समाचारहरू बाहिर आइरहेको सन्दर्भमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सरकारका प्रवक्ता खतिवडाले कुनै औपचारिक प्रस्तावसमेत नआएको बताएका हुन्।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले त दिएको छैन,’ मन्त्री खतिवडाले भने, ‘सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन। तर औपचारिक प्रस्ताव पनि छैन । छलफल पनि केही भएको होइन।’

कुलमानलाई पुनर्नियुक्ति दिइएको सूचना, लेखाइ र बोलाइमा कुनै सत्यता नभएको उनले बताए। कुलमानलाई नै फेरि प्राधिकरणमा पुनर्नियुक्ति दिनुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारलाई दवाब दिइरहेका छन्।

Advertisement