ओली पक्षले स्थायी कमिटी बैठक एकलौटी स्थगित गरेको भन्दै प्रचण्ड-नेपाल समूह रुष्ट

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ।

आज बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकलौटी रुपमा स्थगित गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह रुष्ट बनेको छ। ‘प्रधानमन्त्री ओलीले एकलौटी रुपमा बैठक स्थगित भएको सुचना सार्वजनिक गर्नुभएको छ। तर, बैठक स्थगित हुदै बस्ने तयारी भइरहेको छ अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले भने, अहिले बैठकका लागि नेताहरु कोही आइपुग्नु भएको छ। कोही आउने क्रममा रहनुभएको छ।’ पार्टीभित्रको आन्तरिक विवादको कारणले फुटको संघारमा पुगेको अवस्थामा सोमबार अध्यक्ष दाहाल निवास खुमलटारमा भएको भेलाले आजको बैठकलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर, अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली सल्लाहकार सूर्य थापाले केही समय अघि बैठक स्थगित भएको जानकारी गराएका थिए। अध्यक्षद्धयको परामर्श बाँकी रहेको भन्दै अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी गराए।

त्यसो त खुमलटार भेलाले प्रधानमन्त्री ओली बैठकमा नआए अध्यक्ष दाहालले बैठक सञ्चालन गरेर बहुमतको आधारमा अघि बढ्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओलीको कार्य प्रति असन्तुष्टि जनाउदै अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुको प्रधानमन्त्री राजीनामा माग गरिरहेका छन्।

तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा छन्। उनीहरुले पार्टी भित्रको विवाद समाधान गरेर एकता जोगाउन प्रधानमन्त्री ओलीले सहमतिमा एक पद छाड्नुपर्ने बताउदै आइरहेका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा नेताहरुको आआफ्नो अडानबाट पछि नहटेपछि पार्टी गम्भिर संकटमा पुगको सहजै अनुमान लगाउन सकिन्छ।

Advertisement