युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवक पक्राउ

काठमाडौं – काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ गरेका थिए । उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि मोहम्मदले उनलाई एसिड हान्ने योजना बनाएको खुलेको छ । उनले आफूले एसिड प्रहार गर्दा चिन्ने हुनाले कामदार मुन्नालाई प्रयोग गरेर ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएको प्रहरीको भनाइ छ ।

Advertisement