गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँ दिने भएपछि गाउँलेले ६ दिनमा ३६ क्वीन्टल सलह टिपे

प्युठानको नौबहिनी गाउँपालिकाको स्याउलीवाङका वासिन्दाले ६ दिनमा ३६ क्वीन्टल सलह टिपेर वडा कार्यालयमा बुझाएका छन् ।

असार १५ गतेदेखि गाउँको कोठीभीरमा आएर बसेको सलहको ठूलो झुण्डबाट सुलह संकलन गरेर गाउँलेले वडा कार्यालयमा बुझाएका हुन् । साउन २ गते गाउँपालिकाले सलह टिपेर ल्याएमा प्रतिकिलो ५० रुपैयाँ दिने निर्णय गरेपछि गाउँले सलह जम्मा पार्न खटिएका थिए ।

टिपिएको सलह नष्ट गरेको र टिप्नेहरुको नामावली गाउँपालिकामा पठाउने वडा नम्बर १ स्याउलीबाङका वडाध्यक्ष शेरबहादुर सेन ठकुरीले जानकारी दिए । गाउँपालिकाले बजेट निकासा गरेपछि सलह टिपेको मात्राअनुसार गाउँलेलाई रकम दिने उनले बताए ।

सबैभन्दा धेरै सलह टिप्ने लक्ष्मण घर्तीले ४६ किलो टिपेवापत २३ सय रुपैयाँ पाउनेछन् । गाउँलेले सलह टिपेवापत १ लाख ८० हजार रुपैयाँ पाउने वडाध्यक्ष ठकुरीले बताए ।

असार १५ गते पहिलोपटक आएको सलह गाउँदेखि केही माथिको कोठीभिरमा बसेको थियो । ‘सलह पहाडको टुप्पोमा बस्यो भीर काटेर जान नसकेपछि ओर्लेर बाली खाने अनि फेरि भीरको माथि थलीमा बस्ने ग¥यो’ वडाध्यक्ष ठकुरीले अनलाइनखबरसँग भने ।

सुरुआती दिनमा कुनै हानी नगरे पनि विस्तारै सलहले कलिला मकै र रोपेको कोदोमा क्षति पुर्‍याएको उनले बताए । वडाको ठूलो क्षेत्रमा हरियो घाँस, मकै, कोदोलगायतको वनस्पति सलहले सखाप पारेको गाउँपालिका कार्यालयले जनाएको छ ।

Advertisement