बालुवाटार अगाडि सरकारविरुद्ध प्रदर्शन : प्रहरीद्वारा पानीका फोहरा र अश्रुग्यास प्रहार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सडकमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पानीका फोहरा र लाठी हानेको छ।

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्यास प्रहार भएको छ ।

सरकारले हालै कोरोना रोकथाम र नियन्त्रण गर्न दश अर्ब रुपैयाँ खर्च भइसकेको बताएको थियो। उक्त रकम केमा खर्च भयो भन्ने प्रश्न उठिरहेका छन्। यसअघि मंगलबार पनि केही नागरिकहरूले बालुवाटारमा प्रदर्शन गरेका थिए। बुधबार संसदमा सांसदहरूले दश अर्ब केमा खर्च भएको सरकारले पारदर्शी ढंगले जवाफ दिनुपर्ने बताएका थिए।

उक्त प्रश्नमाथि जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोनासँग लड्ने बेला भएको र हिसाबकिताब पछि सार्वजनिक गर्ने बताएका थिए। दश अर्बको हिसाब सरकारले देखाउन नचाहेको विरोधमा बालुवाटारस्थित सडकमा प्रदर्शन गरिएको हो।

Advertisement