मेलम्ची खानेपानीको उद्घाटन छिटै हुन्छ – मन्त्री मगर

काठमाडौं – खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने परियोजनाको उद्घाटन छिट्टै हुने जानकारी दिएकी छन् ।

संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री मगरले त्यसको तयारीमा सरकार लागेको बताईन् । ‘दुई दशकदेखि सधैं उठिरहने प्रश्नमध्ये मेलम्ची आयोजना पनि हो । यसको भौतिक काम आगामी आर्थिकवर्ष भित्र सकिनेछ,’ संसदमा बोल्दै मन्त्री मगरले भनिन्,’ वितरणको काम व्यवस्थित ढंगले अघि बढाइनेछ । मेलम्ची खानेपानीका विषयमा उठ्ने गरेका प्रश्नहरुको बीट मार्ने बेला भईसकेको छ । मेलम्चीले उब्जाएका निरासाको पनि बीट मार्ने बेला भएको छ ।’

मन्त्री मगरले नेपालमा खानेपानीको समस्या तत्कालको नभएको बताउदै बरु सरकारले तत्काल र दिर्घकालिन योजना बनाएर समस्या समाधानका लागि लागिपरेको बताईन् । समस्या अहिलेको मात्र नभइकन पहिल्यैदेखिको रहेको बताउदै उनले काठमाण्डौ उपत्यकामा मेलम्ची परियोजनाले भ्याउने जतिमा मेलम्चीको बाँकी स्थानमा अहिले काठमाडौंमा चालु रहेका मुहानको पानी पुर्याउने उनले बताईन ।

‘देशभरीको खानेपानीको वास प्लान बनाएर सवैखालाई खानेपानीको पंहुचमा पुर्याउने तयारी गरिरहेका छौं,’ उनले भनिन् । मेलम्ची खानेपानीको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गर्ने र आगामी आर्थिक वर्ष २०७७/७८ मा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने मन्त्री मगरको भनाइ थियो । उनले काठमाडौं खानेपानी लिमिटेडले उक्त पानी विरतण गर्ने तयारी भइरहेको र अहिले काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको पानीलाई उपत्यकाका अन्य क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

Advertisement