मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन नारायणकाजीको आग्रह

काठमाडौँ — नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन आग्रह गरेका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले मोदी आत्धात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्ने शक्ति लिन आग्रह गरे ।

अतिक्रमणकारी प्रवृतिलाई सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि उनले मोदीलाई आग्रह गरे । श्रेष्ठले भने, ‘यो बेलामा पशुपतिनाथसँग, मुक्तिनाथसँग तपाईंको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईंले आराधना गर्नुहोस् । तपाईं शक्ति लिनुहोस् । तपाईंले आशीर्वाद लिनुहोस् र यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिँदैनौ भनेर सच्चिनुहोस् ।’

त्यस्तै श्रेष्ठले विगतमा अतिक्रमणकारी, र कब्जा गर्ने प्रवृत्ति सच्याउँदै सत्यको पक्षमा उभिन पनि भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरे । उनले भने, ‘हिजोको जुन अतिक्रमणकारी, कब्जा गर्ने प्रवृति रह्यो त्यसलाई सच्याएर सत्यको पक्षमा उभिन्छौँ र नेपाल–भारत सम्बन्धको सम्बन्ध सुधार गराउँछौँ । इतिहासको निरन्तरतामा देखिएको प्रवृतिमाथि विजयी प्राप्त गछौँ भनेर सोच्नु भएको भने तपाईं बधाई र धन्यवादको पात्र हुनुहुनेछ । नेपाल भारतको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहयोग हुनेछ । तपाईंजस्तो आध्यात्मिक व्यक्तिलाई आग्रह गर्न चाहन्छौँ ।’

नेकपाका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले इतिहासका तथ्यहरु टेबुलमा राखेर समस्या समाधानका लागि नेपाल तयार रहेको पनि बताए । तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

Advertisement