फेरी थपियो लकडाउन

सरकारले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसपछि १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषदले हवाई उडान असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि गरेको छ। सीमा सिलबन्दी त्यति बेलासम्म जारी रहनेछ।

पछिल्लो समय कोरोना संक्रमित संख्या बढ्दै गएको छ। शनिबार एकै दिन १८९ जना संक्रमित थपिएका छन्। त्यस्तै, मृतक संख्या पनि ७ पुगेको छ। यही स्थिति हेरेर मन्त्रिपरिषद बैठक यस्तो निर्णयमा पुगेको हो।

आन्तरिक लकडाउनसँगै विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय पनि बैठकले गरेको छ।

कोरोना जोखिम व्यवस्थापन समितिले दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपाली ल्याउन सकिने निष्कर्ष निकालेको थियो। भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो।

शनिबार नै मन्त्रिपरिषद बैठकअघि बसेको सुरक्षा परिषद बैठकले कोरोना प्रभावित क्षेत्रको क्वारेन्टाइनमा सेना परिचालन गर्ने निर्णय पनि गरेको छ।

Advertisement