नेपाली भूमिमा भारतीय एसएसबीको दादागिरी : हतियार सहित पसेर भत्काए सडक

वीरगन्ज – नेपाल-भारत सिमाना खेत्रमा भारतीय सुरक्षा फौजको दादागिरी विगत देखिनै नेपालले सहँदै आएको छ । नेपाली भूमिमै निर्माण गरिएको पर्साको ठोरीस्थित ठुटे खोलाको पुल सञ्चालनमा भारतले फेरि अवरोध गरेको छ ।

भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन नसकेको ठुटे खोलाको पुल, जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो ।

तर पुल सञ्चालनमा आएको एक दिन पनि नबित्दै बिहीबार साँझ भारतबाट हतियार सहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध गरेका हुन् । पुल र हुलाकी सडक बीचमा रहेको नेपालको खोलाबाट भारततर्फ बग्ने कुलो पुरेर बुधबारदेखि पुल सञ्चालनमा ल्याइएको थियो ।

तर बिहीबार साँझ ५ बजे भारतबाट डिएम, एसएसबीका डिएसपी र बिहार प्रहरीका अधिकारी सहित आएका सुरक्षाकर्मी र भारतीयले कुलेर पुरेर बनाइएको सडक भत्काइदिएका थिए । पुल सञ्चालनका लागि कुलो पुरिएको सडक भारतीयले भत्काउन थालेको खबर पाएर ठोरीका जनप्रतिनिधि र स्थानीयवासी पुगेर प्रतिवाद गरेपछि भारतीय सुरक्षाकर्मी र मजदुरहरु फर्किएको ठोरी गाउँपालिका २ का वडा अध्यक्ष किशोर तमाङले बताए ।

‘पुलमा पुग्दा भारतका डिएमका साथै हतियार र बर्दीमा रहेका २५÷-३० जना जति भारतीय प्रहरी र एसबएसबीले पुलमा बसेर मजदुर लगाएर कुलो भत्काइरहेका थिए । हामीले यो नेपाली भूमि हो, यस्तो गर्न पाइँदैन भनेर प्रतिवाद गर्यौँ, केही बेर भनाभन पनि भयो, पछि उनीहरु भारततिर लागे,’ अध्यक्ष तमाङले बताए ।

वडाध्यक्ष तमाङका अनुसार भनाभनका क्रममा भारतीय डिएमले पर्साका प्रमुख जिल्ला अधिकारीले भनेर नै कुलो सञ्चालनका लागि सडक भत्काउन आएको बताएका थिए । तर करिब २ सयको सख्यामा भेला ठोरीवासीले पुल सञ्चालनमा अवरोध गरिए यसले झन ठूलो दुर्घटना निम्त्याउने धम्की दिएपछि उनीहरु पछाडि हट्न बाध्य भएको स्थानीयहरु बताउँछन् ।

ठोरीस्थित सशस्त्र प्रहरी बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक दीपक दाहालले बिहीबार साँझ भारतीय सुरक्षाकर्मी सहित आएका भारतीय पक्षले कसलो पुरेर बनाइएको पुलको सडक भत्काउन खोजे पछि जनप्रतिनिधि र सुरक्षाकर्मीले भत्काउन नदिएपछि भारतीय पक्ष फर्किएको बताए ।

‘माथिको आदेश’ भन्दै कुलो भत्काउन आएका भारतीय पक्ष र ठोरीका स्थानीयबीच केहीबेर भनाभन समेत भएको उनले बताए । ‘बिहीबार साँझ पुलमा पुग्दा भारतका डिएएम, एसएसबी र भारतीय प्रहरीका अधिकारीहरुको उपस्थितिमा १५-६ जना भारतीय कामदारले पुरिएको कुलो कोदालो र बेल्चाले खनिरहेका थिए । नेपाली भूमिमा यस्तो गर्न मिल्दैन भनेपछि ठोरीका स्थानीय र भारतीय बीच केही बेर भनाभन पनि भयो । हामीले पनि अनुरोध गरेपछि उनीहरु भारत तिरै फर्किए,’ दाहालले भने ।

भारतीयहरु फर्किएपछि ठोरीका स्थानीयले भारतीयले खनेको कुलो फेरि पुरेर पुल सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी निरीक्षक दाहालले बताए ।

Advertisement