दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना तैनाथ

काठमाडौं – दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना तैनाथ भएको छ ।

मन्त्रिपरिषदको गत वैशाख १४ गतेको बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तरगत उत्तरीतर्फ रहेको ८७ कि.मि. सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय गरेको थियो । जसअनुसार घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो ।

‘व्यास गाँउपालिका २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाइको ४५० मिटर गोरेटो-घोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त आज घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको छ’, नेपाली सेनाले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ। निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको शुक्रबार अर्को टोली पुग्ने छ।

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यासको छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२ सय स्थानीयलाई आवतजावतका लागि सेनाले बाटो बनाउन लागेको हो।

जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि व्यास-२ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकोले बाटो निर्माणको जिम्मा सरकारले सेनालाई दिएको हो।

सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमि प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।यसअघि उनीहरुलाई आउजाउका लागि भारतीय भूमि प्रयोग गर्नेपर्ने बाध्यता थियो ।

Advertisement