मनकारी मन्त्री : आफ्नो १ वर्षको सेवा सुविधा वापतको राहत वितरण गरे

बिराटनगर – प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले प्रदेशकै अति बिकट क्षेत्रदेखि राहत बितरण थाल्नु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा मन्त्री कुसियैतले राहत बितरण थाल्नु भएको हो ।

बराह क्षेत्र नगरपालिकाका ६ वटा वडा, भोक्राहा गाउँपालिकाका ८ वटा वडा, हरिनगर गाउँपालिका सबै गाउँपालिका, रामधुनी नगरपालिकाको १ वडा, ईनरुवा नगरपालिकाको ३ वटा वडा, कोशी गाउँपालिकाका सबै वडामा राहत बितरण गरिएको छ । मन्त्री कुसियैतले निर्वाचन क्षेत्र ४ अन्तरगतका ३२ वडामा आफै पुगेर वडाहरुलाई राहतको रुपमा चामल र नगदनै उपलब्ध गराउनु भएको छ । यो राजनीतिक प्रचार-प्रसार नभई मानवीय दायित्व रहेको उहाँले भन्नु भयो ।

मन्त्री कुसियैतले आफुले एक बर्षसम्म राज्य कोषबाट पाउने सेवा-सुविधाबाट राहत बितरण शुरु गरिएको बताउनु भयो । हरेक वडामा १५ सय किलोको दरले चामल उपलब्ध गराइएको छ । प्रत्येक वडामा प्रति परिवार १० किलोको दरले १५० परिवारलाई पुग्ने गरी राहतमा चामल उपलब्ध गराईएको कुसियैतले जानकारी दिनुभयो ।

एक बर्षको सेवा सुविधा करिब ६ लाख हुनेमा १ महिनाको रकम प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोष’लाई हस्तान्तरण गरिएको र बाँकी रकम निर्वाचन क्षेत्र अन्तर्गत भोकै बस्नु पर्ने बाध्यतामा रहेका जनतालाई लक्षित गरी बितरणको काम थालिएको मन्त्री कुसियैतले बताउनु भयो । अन्नकै कारण कोहि पनि जनता भोकै मर्न नपर्ने उहाँको भनाइ थियो, साथै अरु दानवीरहरुलाई पनि यस्ता बिकट क्षेत्रमा राहात वितरण गर्न उहाँले आवाहन गर्नु भएको छ ।

बराह क्षेत्रका ६ वटा वडालाई पुग्नेगरी नगरपालिकामा मेयर निलम खनाललाई १ लाख ५० हजार नगद हस्तान्तरण गरिएको छ, भने रामधुनी नगरपालिकाको एउटा वडालाई ३० हजार नगद दिईएको मन्त्री कुसियैतले बताउनु भयो । अन्य वडामा भने चामल नै पुर्याइएको छ । मन्त्री कुसियैत खाद्यान्नको सामाग्री सहितको ट्रक लिएर वडा-वडामा पुग्न थालेका हुन् । कोशी गाउपलिकाले वितरण गरेको प्लास्टिकको चामल र कुहिएको दालमा स्थानीयले बिरोध जनाएपछि मन्त्री कुसियैतले राहतको चामल बोकेर आफ्नो निर्वाचन क्षेत्रमा पुग्नु भएको हो । यस्तो कठिन अवस्थामा पनि स्थानीय तहको यस्तो हर्कत तुरुन्त रोक्न सम्बन्धित स्थानीयहरुलाई समेत निर्देशन दिनु भएको थियो ।

Advertisement