चितवनमा बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान सुरु

चितवन – चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान सुरु गरेको छ ।

नगरपालिकाभित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा खेती सुरु गरिएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाझो जमिनमा सामूहिक खेती सुरु गरिएको नगरपालिकाका मेयर नारायण वनले बताए ।

उनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवामा रहेको करिब ३० विगहा बाँझो जमिनमा खेती गर्न सुरु गरिएको छ । नगरपालिकाले विपन्न वर्गका ३ सय परिवारलाई ५० समूह बनाई सामूहिक खेतीको सुरुवात गरेको हो । सामूहिक खेतीमा प्रोत्साहन गर्न नगरपालिकाले जमिन जोत्न तेल खर्च सँगै मकै र बोडीको बिउ उपलब्ध गराएको छ ।

यस्तै बाँझो जग्गा राख्नेलाई जरिवाना समेत गर्दै आएको छ । विपन्न समूहलाई काम नभएर सरकारले राहत दिनुपर्ने तर जमिन बाँझो रहने स्थिति रहेकाले नगरभित्र रहेको सबै जमिनमा खेतीगर्ने अभियान सञ्चालन गरिएको मेयर वनले बताए ।

कोरोनाभाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरीएपछि समस्यामा परेका विपन्नवर्गका लागि नगरपालिकाले ८२ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको थियो । काम नभएर राहत वितरण गर्नुपर्ने अवस्थाको अन्त्यगर्नका लागि नगरपालिकाले निःशुल्क जमिन र बिउबिजन उपलब्ध गराएको हो ।