चिनियाँ राजदूत यान्छीले भेटिन प्रचण्डपछि माधव नेपाललाई

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेट्नुभएको छ।

आज (शुक्रबार) बिहान प्रचण्डसँग उहाँकै निवास खुमलटारमा भेट गरेलगत्तै यान्छीले नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव नेपाललाई पनि उहाँकै निवास कोटेश्वर पुगेर भेट गर्नुभएको हो।

भेटमा दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो। यसअघि प्रचण्डसँग यान्छीले झण्डै १ घण्टा भेटवार्ता गर्नुभएको थियो। भेटमा कोरोना रोकथामका बारेमा छलफल भएको बताइएको छ।

यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको थियो। नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Advertisement