अनिँदो आँखा, भोको पेटमा सिमानामा तैनाथ जवानहरु

काठमाडौँ — अनिँदा आखाँ । न सुत्ने सुविस्ता । न बस्ने–खानेको राम्रो प्रबन्ध । यस्तै, असुविधा झेल्दै दशगजा क्षेत्रमा दिनहुँ १० घण्टासम्म पहरा गरिरहेका छन्, सशस्त्र प्रहरी । ग्लोब–मास्क लगाएर राइफल बोकेर तथा लठ्ठी हल्लाउँदै सीमामा नजर राख्ने सुरक्षाकर्मी प्राय: हरेक रात चाउचाउ र एक बोतल पानीको भरमा ड्युटी गरिरहेका छन् ।

धनुषाको भडरिया नाकामा खटिएका सुरक्षाकर्मी हतासजस्ता देखिन्थे । थकित शरीर, मलिन अनुहार र अनिदो आखाँले उनीहरु दुखजिलो गरेर सीमामा पहरा गरिरहेको झल्किन्थ्यो । सशस्त्र प्रहरी धनुषाका गणपति एसपी राजेश उप्रेतीले धनुषाको भडरिया नाकामा खटिएका सुरक्षाकर्मीलाई सोधे,‘गाहृो–सारो के छ ?’ यो प्रश्नमा प्राय: सबैजना चुपै रहे । तर, उनीहरुको अँध्यारो मुखले सबै बोलिरहेको थियो । ‘यतिबेला बोर्डरमा गरिने दुखको इतिहासले मूल्यकांन गर्छ । त्यसैले हरेश नखाई डिउटी गर्नुस्,’गणपतिले फेरि भने ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी बढेपछि सरकारले चैत ९ गते सीमा सिलको घोषणा गरेलगत्तै दशगजामा सशस्त्र प्रहरीको तैनाथी बढाइएको थियो । नेपाल–भारत आउजाउ गर्नेलाई रोक्न करिब ३६ दिनदेखि दशगजामा निगरानी राखिरहेको सशस्त्र प्रहरीले भने दुखजिलो गर्दै पहरा दिइरहेका छन् ।

प्रदेश २ मा भारतको ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ । धनुषाको सीमा क्षेत्रमा ७ सय ५० भन्दा बढी सशस्त्र प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीले सीमामा पहराका लागि तीन चरणमा डिउटी खटाउँछन् । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ८ घण्टा, साँझ ६ बजेदेखि राति १२ बजेसम्म ६ घण्टा र राति १२ बजेदेखि बिहान १० बजेसम्म १० घण्टा गरी तीन चरणमा सुरक्षाकर्मी सीमामा तैनाथ हुन्छ । डिउटीमा खटिने हरेक सुरक्षाकर्मीलाई एउटा चाउचाउ र एक बोतल पानी दिइन्छ । करिब ५ सय मिटरको दूरीमा एक–अर्कालाई देखिनेगरी डिउटी मिलाइएको छ ।

‘डिउटीमा जानेहरु खाना खाएरै जान्छन,’धनुषाको ठाडीझिजाका बिओपीका इन्सपेक्टर प्रचण्ड पण्डितले भने,‘डिउटीमा खटिएको ठाउँ टाढा हुने भएकाले चाउचाउ र पानी लिएरै जान्छन् । दुख त छँदैछ ।’उनका अनुसार पानी, चट्याङ र हावाहुरी चल्दा डिउटीमा खटिनेको बिजोग हुन्छ । ‘पानी पर्दा ओत लाग्ने ठाउँ हुन्न । चटयाङ पर्दा रुखमुनि बस्नु भएन । समस्या त कति छ कति,’सशस्त्र प्रहरी धनुषाका एसपी उप्रेतीले भने,‘खान र बस्नको प्रबन्ध मिलाइएको छ । अन्य समस्या पनि बिस्तारै हल गर्ने प्रयास भइरहेको छ ।’

Advertisement