राजपा र समाजवादी एकता भएकोमा देउवा खुसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजापा) एकता हुँदा खुसी लागेको बताएका छन्।

बिहीबार शुभकामना तथा बधाई दिँदै देउवाले खुसी व्यक्त गरेका हुन्।

‘संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा म खुसी व्यक्त गर्दछु’, देउवाले विज्ञप्तिमा भनेका छन्, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु।’

उनले नवगठित ‘जनता समाजवादी पार्टी’ को नेतृत्व र पार्टीमा आवद्ध सबै शुभेच्छुकलाई बधाई तथा शुभकामना दिएका हुन्।