राहत नदिएपछि सुकुम्बासीले जनप्रतिनिधिलाई कार्यालयमा थुनेर लगाए ताला

राहतको नपाएको भन्दै सुकुम्बासीले कैलालीको जानकी गाँउपालिकाका वडा नम्बर ५ का अध्यक्षलगायत जनप्रतिनिधिलाई कार्यालयमा थुनेका छन्।

राहत वितरणमा पारदर्शीता नभएको र पाउनुपर्नेले राहत नपाएको भन्दै सुकुम्बासीले कार्यलयमा मंगलबार दिउँसो ताला लगाएका हुन्। दैनिक ज्यालामजदुरी गर्नेहरूलाई राहत दिन ढिलाई गएिको भन्दै कार्यलयभित्रै अध्यक्षलगायत जनप्रतिनिधिहरुलाई थुनेर ताला लाइएको स्थानीय तुलाराम चौधरीले बताए।

‘वडामा रहेको सुकुम्बासी टोलका मजदुरी गरि खानेलाई राहत दिन ढिलाई भएकोमा स्थानीयले विरोध गरेका हुन्,’ उनले भने।

६ गते दिने भनिए पनि राहत आजसम्म नदिएपछि सुकुम्बासी वस्तिमा दैनिक ज्यालादारी गरि परिवार चलाउनेहरु समस्यामा परेका छन्।

अर्का स्थानीय प्रेम चौधरीले विपन्न वर्गका लागि बैशाख ६ गते दिने आश्वासन दिएपनि राहत नपाइएपछि तालाबन्दी गर्नुपरेको बताए। ‘छ गते मजदुरहरुलाई राहत दिने भनेर वडा अध्यक्षले भनेका थिए । त्यो अनुसार काम नभएपछि तालाबन्दी गरेका हौं,’ उनले भने।

स्थानीय निर्मला चौधरीले अमौरी सुकुम्वासी टोलमा २ सय बढी परिवार लकडाउनका कारण समस्यामा परेका बताइन्। ‘केहि परिवारलाई मात्रै राहत दिइयो बाँकी सयौं परिवार भोकै बस्नुपर्ने अवस्था आएपछि वडा कार्यालय आएका हौं,’ उनले भनिन्।

वडा कार्यालयमा ५ सय १९ परिवारले राहत माग गर्दै फारम भरेकोमा बडघर, राजनितिक दल, अगुवा र जनप्रतिनिधिको छलफलबाट २ सय ६२ परिवार राहतका लागि छनोटमा परेको वडा कार्यालयले जनाएको छ।

जसमध्ये १ सय ९८ परिवारलाई पहिलो चरणमा राहत दिएको वडा अध्यक्ष भिम बहादुर थारूले बताए।

‘बाँकी रहेका ६४ परिवारलाई गएको ६ गते नै राहत वितरण गर्ने भनेका थियौं,’ उनले भने ‘तर अन्य वडामा राहत विरण जारी रहेकाले कार्यपालिकाको बैठक पछि सबै वडामा आवश्यता अनुसार दोस्रो चरणको राहत दिने तयारी छ।’

बाँकी रहेका, छुट परिवारको फारम लिने र दोस्रो चरणको राहत वितरण गर्ने तयारीमा वडा कार्यालय जुटेको उनको दाबी छ। अहिले ताला खोलिसकिएको छ। अध्यक्ष चौधरीले महामारीका बेला मान्छेको हुल लिएर बन्द गर्नु भन्दा वडा कार्यलय मार्फत समस्या समाधानतिर लाग्नुपर्ने बताए।

स्थानीय प्रशाशनले वढा कार्यलयमा लगाइएको ताला खुलाउन पहल थालिसकेको छ।

Advertisement