प्रेम सञ्जेल भन्छन् ‘म भ्रष्टाचारी प्रमाणित भए टुँडिखेलमा झुण्ड्याएर मार्नु’

विराटनगर – काम नगरी तलबभत्ता बुझेको भन्दै अख्तियारले पत्र काटेपछि श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले ‘म भ्रष्टाचारी प्रमाणित भए टुँडिखेलमा झुण्ड्याएर मार्नु’ भनी अभिव्यक्ति दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएपछि उनको प्रतिक्रिया कस्तो रहला भन्ने सर्वत्र चासोको विषय बनेको थियो ।

निर्वाचन आयोग, क्षेत्रीय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी परेपछि अख्तियारले सञ्जेलको नाममा वैशाख ४ गते पत्र काटेर श्रम कार्यालयमा पठाएको थियो । क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख रहँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै सञ्जेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

तीन दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन आदेश सहित आएको पत्रको सन्दर्भमा बोल्दै सञ्जेलले शुक्रवार आफू बयान दिन जाने बताएका हुन् । सञ्जेलका विरुद्ध उजुरी परेपछि अख्तियारको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखाले उनलाई तीन दिनभित्र हाजिर हुन भनेको छ ।

बुधवार प्राप्त पत्रमा उनलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पत्र प्राप्त गरेपछि बिहीवार संचारकर्मीसँग कुराकानी गर्दै उनले आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन जाने बताए ।

‘शुक्रवार अख्तियारमा बयान दिन जाँदैछु,’ संजेलले भने, ‘मैले सर्वोच्च अदालतको आदेश अनुसार सो अवधिको तलब भत्ता बुझेको हुँ ।’ सञ्जेलले आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मारे हुन्छ भन्दै चुनौति दिए । कोही कसैले उजुरी हाल्दैमा आफू नडराउने उनको भनाइ थियो ।

आफूले अदालतको आदेश अनुसार नै तलब भत्ता बुझेको उनको जिकिर छ । सञ्जेललाई यस अघि पटक–पटक मौखिक रूपमा उपस्थित हुन भनिएको थियो । तर उनले मौखिक रूपमा आएको आदेश नमान्ने अडान लिएका थिए ।

सञ्जेलले पत्र पाएपछि आफू बल्ल बयान दिन जान तयार रहेको बताएका हुन् ।

Advertisement