देशभरका ५५ सडक र पुलको काम थालियो, सतर्कता अपनाउँदै विकासलाई निरन्तरता

काठमाडौं – लकडाउनका बेला सुरक्षा सतर्कता अपनाउँदै विकासलाई भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

बुधबारसम्ममा देशभर करिब ५५ सडक र पुल निर्माण तथा मर्मतको काम थालिएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अपनाएर काम थालिएको बताए । ‘केही आयोजनाको निर्माण सुरु गरिएको छ भने केहीमा मर्मत र सडक मार्किङलगायतका काम भइरहेका छन्,’ उनले भने । लकडाउनको समयमा नीतिगत छलफल, जरुरी सामयिक काम र विकास निर्माणका कार्य सबै ठप्प गर्दा जनमानसमा कोरोनाको त्रासदी झन् बढ्न सक्ने महानिर्देशक शर्माको भनाइ छ । आयोजनाका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराउने काम पनि बिस्तारै सहज बनाउँदै लगिएको उनले बताए ।

डिभिजन कार्यालयहरूले आयोजनामा रोकिएका कामदारलाई मात्र अहिले निर्माण तथा मर्मत कार्यमा लगाएका छन् । देशभर करिब तीन हजार कामदारले काम गरिरहेको सडक विभागको अनुमान छ । घर गएका कामदार भने लकडाउनका कारण फर्किन सकेका छैनन् ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले निर्माण व्यवसायी, स्थानीय प्रशासन र अन्य सरोकारवालाको अनुगमन र समन्वयमा काम भइरहेको बताए । ‘हामीले अहिले व्यस्त हुने बिर्तामोड–भद्रपुर जाने सडक र देउनियाँ खोलामा रहेको पुल निर्माण गरिरहेका छौँ,’ उनले भने । कामदारको अभाव र निर्माण सामग्री आपूर्ति सहज नहुँदा पूर्ण क्षमतामा भने काम हुन नसकेको यादवले बताए । बिस्तारै सहज हुँदै जाने र कामको गति बढ्ने उनको भनाइ छ ।

झापामा सडक विभागको दमक डिभिजनअन्तर्गत पुल र सडक निर्माण भइरहेको छ । त्यस्तै, जुम्ला डिभिजनअन्तर्गत नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम हुँदै छ । दाङ डिभिजनले पुलको फुटपाथ निर्माण गरिरहेको छ । भरतपुर डिभिजनले भने पृथ्वी राजमार्गमा खाल्टा पुर्ने काम गरिरहेको विभागले जनाएको छ ।

त्यस्तै, त्रिभुवन राजपथको हेटौँडा–भैँसे–लामीडाँडा खण्डमा मर्मत–सम्भारको काम भइरहेको छ । कोसी राजमार्गको देउराली–मुढे खण्ड, महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा पनि मर्मतको काम भइरहेको विभागले जनाएको छ । त्यस्तै, भक्तपुर, चरिकोट, ललितपुर नुवाकोट डिभिजनले पनि काम थालेका छन् । काम सुरु भएका अधिकांश आयोजना पुल, सडक र नदी नियन्त्रणसम्बन्धी छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पुल र नदी नियन्त्रणका आयोजना बर्खा सुरु हुनुअघि नै सक्नुपर्ने बताए । बर्खा सुरु भएपछि यस्ता आयोजनामा काम गर्न कठिन हुने निर्माण व्यवसायीको भनाइ छ । ‘यो समस्यालाई ध्यानमा राखेर पनि पुलको काम तत्काल थालनी गरिएको हो,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने ।

व्यवसायीले पुल निर्माणका लागि आवश्यक पर्ने टेन्डम (तार तान्ने) मेसिनलगायतका उपकरण, निर्माण सामग्री र आवश्यक खाद्यान्नको ढुवानी गर्न तथा पुलका प्राविधिक र मजदुरहरूको आवतजावतका लागि अनुमति पासको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरिसकेका छन् । केही निर्माणस्थलमा व्यवसायीले आवश्यक निर्माण सामग्री पनि पुर्‍याइसकेका छन् । महासंघका महासविच रोशन दाहालले केही ठाउँमा गिटी, बालुवा, सिमेन्ट, रड, फर्मालगायत आवश्यक सामग्री ढुवानी गरिसकेको बताए । केही पुल आयोजनामा स्लाब ढलान गर्ने फर्मा राखेर रडसमेत बाँधिसकेको तथा प्रिस्टेज पुल निर्माणका लागि टेन्डम तार जडान गरिसकेको व्यवसायीहरूले बताएका छन् ।

संकटको वेला आयोजना निर्माणमा एकरूपता ल्याउन तथा सुरक्षित र सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि (वर्क प्रसिजर) तयार गर्दै छ । ‘दैनिक कति वेला काम थाल्ने, कति वेलासम्म काम गर्ने, काम गर्दा कस्तो सुरक्षा अपनाउनेलगायतका विषय कार्यविधिमा उल्लेख हुन्छन्,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने । अहिले निर्माण सामग्री ढुवानीमा पनि कठिनाइ भइरहेको छ । कार्यविधिले त्यसलाई पनि सहज बनाउने मन्त्रालयका अधिकारीहरूको भनाइ छ । कार्यविधि तयार भएपछि सबै जिल्ला प्रशासन कार्यालयमा पठाएर कार्यान्वयमा ल्याइनेछ ।

Advertisement