‘प्रचण्ड’ सर्वोच्च रणनीतिकार, कुशल राजनेता : गंगालाल

२०५२ सालको फागुनबाट जनयुद्धको नेतृत्व गर्दै प्रचण्ड नेपाली समाजमा एकाएक चर्चामा आए। शासक वर्गका लागि उनी खतराको संकेत भएर उदाए भने गरिब, दुःखी, सीमान्कृत, अल्पसंख्यक, परिवर्तनकामी जनताका लागि भने मसिहाको रुपमा देखा परे। जनयुद्धको क्रममा पार्टीभित्र तथा देशी विदेशी षड्यन्त्रको समाना गर्दै उनले आजको दिनमा नेपाललाई २४० वर्षे राजतन्त्रबाट मुक्त बनाउँदै समावेशी नेपालको यात्रामा अघि बढाएका छन्। आजको दिनमा नेपाली समाजमा गणतन्त्र, संघीयता, जनताको समावेशी संविधान, धर्मनिरपेक्षता र समावेशीतालाई प्रचण्डको पर्यायवाचीका रुपमा समेत चित्रण गर्न थालिएको छ।

२५ वर्षदेखि राजनीतिको केन्द्रमा

प्रचण्ड
लेखक : गंगालाल तामाङ

एउटा व्यक्ति कसरी २५ वर्षदेखि राजनितिको केन्द्रमा रहन कसरी सम्भव छ ? यो धेरै मान्छेले नबुझेको जटिल प्रश्न हो। प्रचण्डसँग त्यस्तो के जादुको छडी छ, जसका कारण उनी नेपालको राजनीतिक केन्द्रमा छन् ? धेरै मान्छेको यस विषयमा विरोधाभाषपूर्ण बुझाइ रहेको छ। यो प्रश्नको उत्तरका लागि प्रचण्डको क्षमताको बारेमा बुझ्न जरुरी छ।

प्रचण्ड नेता कम र राजनेता बढी हुन्, राजनीतिज्ञ र रणनीतिकार दुवै हुन्। उनी समयको माग हुन्, जनताको भरोसाको केन्द्र पनि हुन्। स्पष्ट वक्ताका साथै दुरदर्शी हुन्, परिवर्तनको पर्यायवाची पनि हुन्। ती मान्छेले मात्र प्रचण्डको आलोचना गर्छन्, जसले उनीसँग संगत गरेका छैनन्। जसले उनको गतिशीलता बुझ्दैनन्। उनी एक अनन्त प्रवाह हुन्, जमेको पोखरी होइनन्।

प्रचण्डसँग यस्तो दुरदर्शी क्षमता छ कि उनी भविष्यमा के हुन्छ भन्ने कुरा आंकलन गरी अगाडि नै त्यसको रणनीति तयार गरी बसेका हुन्छन्। त्यसैकारण असहज परिस्थितिमा पनि सहजै सफल र उपयुक्त निर्णय गर्न सक्छन्। उनको क्षमताको कुरा गर्ने हो भने उनका आलोचकले पनि स्वीकार गरेको कुरा के हो भने जसले प्रचण्डलाई एकचोटी भेट्छन्, उसलाई सजिलै प्रभाव पार्न सक्छन्।

अझ एकथरि त प्रचण्डलाई एउटा ढुंगाले २ वटा चरा मार्नसक्ने कौशलका नेतासमेत भन्ने गरेका छन्। जुन कुरा उनले लिँदै आएको राजनीतिक निर्णयबाट पनि पुष्टि हुन्छ। उनी सधै क्रियाशील हुन्छन् र उर्जावान् पनि। जस्तोसुकै परिस्थितिमा समेत आफूलाई समाल्दै समग्र देशको नेतृत्व गर्न सक्ने क्षमताका कारण नै उनको वरिपरि देशको राजनीति घुमिरहेको छ। पछिल्लो ५ वर्षमा मात्रै उनले छोरा तथा छोरी दुवै गुमाए। तर, पनि रत्तिभर विचलित भएनन्। जनताको सेवाका लाति अहोरात्र खटिरहेका छन्। उनको सक्रियता देखेर विरोधीसमेत उनीप्रति नतमस्तक हुने विचित्रको अवस्था बेलाबखत देखा पर्छ।

नेपालमा प्रचण्डको योगदान

प्रचण्डको योगदानलाई शब्दमा उल्लेख गर्न सजिलो छैन। तैपनि उनको प्रमुख योगदानलाई यसरी उल्लेख गर्न सकिन्छ, नेपालबाट राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रमा पुर्‍याउने, राज्यको पुनरसंरचना गर्दै एकात्मकताबाट संघीयतामा लग्नु, धर्मनिरपेक्षतामा मुलुक पुर्‍याउनु, समाजमा पछाडि परेका निमुखा तथा राज्यद्धारा पीडित समुदायलाई राज्यको मुल प्रवाहमा समेट्दै सहभागीतामूलक समावेशी लोकतन्त्रको दिशामा मुलुकलाई डोर्‍याउनु। यस क्रममा उनले नेपालमा असम्भव मानिएको पार्टी एकताको प्रक्रियालाई आश्चर्यजनक रुपमा सम्पन्न गरेका छन्। प्रचण्ड र प्रधानमन्त्री केपी ओलीको समझदारीले नेपालमा राजनीतिक स्थिरताको अभूतपूर्व जग बसेको छ।

प्रचण्ड जहाँ रहन्छन्, त्यहाँ उनी बहुमतमा हुन्छ। उनी आलोचना पचाउँछन्, मान्छेलाई विश्वासमा लिन्छन् र अघि बढ्छन्। कसैलाई धम्काएर वा षड्यन्त्र गरेर शक्ति आर्जन गर्ने भ्रममा उनीमा छैन। तसर्थ, २५ वर्षदेखि सधै राजनीतिको केन्द्रमा छन्।

नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आउने कुरामा सायदै मानिस विश्वास गर्थे। ०५८ सालसम्म पनि नेपाली समाजका लागि राजतन्त्रको विकल्प खोज्नुको मुर्खता आत्मरति हो भन्ने आम बुझाइ थियो। आफूलाई बढेबढे नेता ठान्नेले समेत राजतन्त्रको विकल्प भनेको राजतन्त्र नै हो भन्थे। यस्तो अवस्थामा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, परिवर्तन, विकास भन्दै ०५२ मा आवाज उठ्यो। यस्तो असम्भव आवाज सुनेर धेरै मान्छे हाँस्थे। तर १० वर्षमै त्यो असम्भव माग बास्तविकतामा बदलियो। नेपाली समाजमा असम्भव ठानिएका माग पूरा गराउन सफल व्यक्ति अरु कोही नभएर उनै प्रचण्ड थिए।

पोखराको गरीब परिवारमा जन्मिएका प्रचण्ड युवा अवस्थासम्म सामान्य व्यक्ति थिए। समाजको पछौटेपन, विभेद, अन्यायलाई नजिकबाट नियाल्ने क्रममा उनमा परिवर्तनको आवेग चल्यो। नेपाललाई समृद्ध बनाउने, जनतालाई खुसी र नेपाललाई उन्नतशील बनाउँदै समावेशी राज्य बनाउने सपना देखेका प्रचण्ड असम्भव मानिएको बाटोमा अगाडि बढ्ने संकल्प गर्दै ०३६ तिरै भूमिगत भए। राजनितिमा सक्रिय हुँदादेखि नै टुटफुट तथा देशी विदेशी कोपविभाजनमा परेका कम्युनिष्टलाई एक नबनाएसम्म विकसित नेपालको सपना पूरा नहुने निष्कर्ष निकाल्दै विपरित दिशातर्फ फर्किएका कम्युनिष्टलाई एकतावद्ध गर्न ०५१ सालसम्मको समय खर्चिए। १५ वर्षका प्रयासपछि उनले एउटा विश्वासिलो तर सानो समूहको नेतृत्व गर्न सफल भए। त्यही समूहको नाम ०५२ सालमा ने.क.पा. (माओवादी) रह्यो।

उनीमाथि माओवादीको एमालेकरण गरेको छ। तर समय क्रमले प्रचण्डको कदम एमालेकरण नभएर समृद्धि र समाजवादका लागि भएको पुष्टि गर्दैछ। एकीकृत नेकपाभित्र प्रचण्डले जुन जनमूखी अडान लिदैछन्, त्यसले सिंगो नेकपालाई समाजवादको दिशामा डोर्‍याउने मर्म लुकेको छ। नेकपाभित्रको बहसमा प्रचण्डले अगुवाई गरेको विचार समृद्धि र समाजवादको पक्षमा छन्। समाजवादमा जान नचाहनेहरु चाहिँ उनलाई बदनामित गर्न सक्रिय छन्।

प्रचण्डको एउटा राजनीतिक विशेषता छ कि उनी पार्टीमा कहिल्यै प्रतिपक्षी भएनन्। सधै संस्थापनको भूमिका रहे। एमाले र माओवादीको एकतापछि पनि प्रचण्ड संस्थापन छन् भने अर्का अध्यक्षको समूह प्रतिपक्षीजस्तो देखिन्छ। यसको एउटा कारण हो, प्रचण्ड आलोचना पचाउँछन्, मान्छेलाई विश्वासमा लिन्छन् र अघि बढ्छन्। उनी कसैलाई धम्काएर वा षड्यन्त्र गरेर शक्ति हत्याउन सकिन्छ भन्ने भ्रममा छैनन्। न उनी कसैसामु झुक्छन्, न कसैलाई झुकाउने दम्भ पाल्छन्। त्यसकारण उनी अविछिन्न राजनीतिको केन्द्रमा छन्।

कोभिड–१९ को महामारीबाट बच्न प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव अघि सारेका छन्। यसका पछाडि उनको कुनै स्वार्थ देखिँदैन। किनकि, प्रधानमन्त्रीकै नेतृत्वमा त्यस्तो संयन्त्र बनोस् भन्ने प्रचण्ड चाहना छ। उनी चाहन्थे त जतिबेला पनि प्रधानमन्त्री हुन् सक्छन्, किनकि पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत उनी स्पष्ट बहुमतमा छन्। तर, उनी त्यसो गर्ने पक्षमा छैनन्। तर, एउटा यथार्थ हो कि पार्टीभित्र प्रचण्ड कहिल्यै अल्पमतमा हुँदैनन्, किनकि उनको स्वार्थ र सपना सत्ता होइन, समाजवादतिर छ। – गंगालाल तामाङको लेख लोकपाटीबाट साभार ।

Advertisement