पाल टाँगेर दशगजा क्षेत्रमा सशस्त्र प्रहरीको चौबीसै घन्टा निगरानी

जिल्लाको महेशपुर मूल भन्सार र झुलनीपुर नाकामा सशस्त्र र नेपाल प्रहरीको निगरानी बढाइएको छ।

लुकिछिपी भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आएपछि दशगजा क्षेत्रमा सशस्त्र प्रहरी थपिएको छ। नारायणी नदी तरेर व्यक्तिहरु ओहोरदोहोर गरेको जनगुनासो आएपछि सशस्त्र प्रहरीले अस्थायी पोस्ट खडा गरी चौबीसै घन्टा निगरानी थालेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल २६ नम्बर गणका एसपी भरत खनियाँले बताए। करिब २८ किलोमिटर सीमा नाकामा जम्मा ४ वटा मात्र सशस्त्रको सीमा सुरक्षा बल छ। थप निगरानीका लागि सय जना थप जनशक्तिले सीमा क्षेत्रमा पाल टागेर पहरा दिइरहेका छन्।

‘दुवै देशको नाका बन्द छ। नाकामा कडा निगरानीका बीच पनि खेत र नदीबाट मानिस तरेर वारपार गरेको भन्ने सूचना आयो,’ उनले भने, ‘नाकामा थप निगरानी गर्न सय जना जनशक्ति थप गरेका छाैं। रातदिन दशगजा वरपर पालं टागेर ड्युटी गरिएको छ। ’

मुख्य नाका बन्द भए पनि अन्य मार्गबाट मानिसहरु लुकिछिपी सीमा वारपार गर्ने भएकाले सीमावर्ती क्षेत्रका बासिन्दा डराएका थिए। उनीहरुले तत्काल चोरी नाका र दशगजामा बाक्लो सुरक्षा गस्ीत बढाउन माग गरेका थिए। ‘रातको समयमा लुकिछिपी तरकारी र खाद्यान्नसहितका अन्य सामान भारतबाट नेपाल भित्रिरहेको छ,’ पाल्हिनन्दन १ का शिवनारायण चौधरीले भने, ‘कोही ससुराली आउँछन्। कोही सामान लिएर रातारात साईकल र मोटरसाइकलमा भित्रिएका छन्। पूर्ण रुपमा सिमाना लक गर्नुपर्छ।’

लकडाउनको समयमा पनि भीडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले थप कडाइ गरेको हो। भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समय तोकेको छ।

Advertisement