छैठौं संक्रमित बागलुङकी महिलाको परिवारका कोरोना नभएको पुष्टि

बागलुङ – नेपालको छैठौं तथा बागलुङकी दोस्रो कोरोना संक्रमित ६५ वर्षीय महिलाको परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बागलुङ नगरपालिका ३ गौडाकोटस्थित घरमा बस्दै आएका संक्रमित महिलाको परिवारका चार सदस्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिए ।

बिहीबार कोरोना संक्रमणको पुष्टि भएपछि शुक्रबार धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर संक्रमित महिलाका ८८ वर्षीय ससूरा, कान्छी बुहारी र २ नाति गरी चारजनाको स्वाब संकलन गरेका थिए । उक्त स्वाब शनिबार बिहानै परीक्षणका लागि पोखरा पठाइएको थियो ।

यसअघि नेपालका पाँचौ संक्रमित बागलुङ नगरपालिका ४ कुडुलेकी किशोरीको परिवारका ७ जना सदस्यको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

Advertisement