काठमाडौंबाट रिजर्भमा यात्रु ओसार्ने एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

रौतहटमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले यात्रु बोक्न ३ वटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

तीमध्ये दुई वटा निजी संस्था र एउटा रेडक्रस सोसाइटीको रहेको छ। यात्रु ओसार्न थालेपछि प्रहरीले चालकसहित पूर्वपश्चिम राजमार्गबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

काठमाडौंबाट हरिवन आउँदै गरेको ज १ च १३४४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर-११ घर भएका चालक कृष्ण लामाले काठमाडौंबाट १२ हजारमा रिजर्भ गरी ६ जना यात्रु बोकेका थिए।

बिरामी छाडेर यात्रु बोक्न थालेका कारण कडाइ गरिएको र बिरामी हो भनेर सधैं मानिसलाई सुताएर ल्याउने गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताए।

यसैगरी, सर्लाहीको बरथहवाबाट यात्रु बोकेर वीरगञ्ज हिँडेको ना १ च ९१९६ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, यात्रु बोकेर सर्लाहीको नवलपुरबाट वीरगञ्ज जाँदै गरेको ना २ च ९९७७ नम्बरको एम्बुलेन्स र चालक राजमहम्मद मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सामान्य दिनको तुलनामा लकडाउनका बेला राजमार्गमा एम्बुलेन्स बढी चलेको देखेपछि प्रहरीले चेकिङ तीव्र पारेको छ ।

Advertisement