नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं– नेपालमा कोरोना भाइरसको नयाँ तीन जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

नेपालमा चौथो संक्रमितको रुपमा कोरोना पोजेटिभ देखिएका कैलालीको धनगढीका युवाकी भाउजुमा कोरोना संक्रमण देखिएको हो । यूएईको दुबईबाट नेपाल आएका ३५ वर्षीय युवक चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । स्वाव संकलन गरी परीक्षण गर्ने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनमा कोरोना पोजेटिभ देखिएसँगै स्थानीय प्रशासनले उनको परिवारका सदस्यहरुलाई समेत आइसोलेसनमा भर्ना गरेको थियो । परिवारका सदस्यहरु सबैको स्वाव संकलन गरी परीक्षण गर्ने क्रममा उनकी भाउजु नाता पर्ने ३४ वर्षीया महिलामा पोजेटिभ देखिएको हो ।

यस्तै, भारतबाट आएका २ अन्य युवामा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएकामध्ये कञ्चनपुरका ४१ वर्षीय पुरुष भने लुकेर सीमा नाकाबाट भित्र छिरेका थिए । भारतको उत्तराखण्डबाट नेपाल भित्रिएका उनी उच्च ज्वरो आए पछि अस्पतालको सम्पर्कमा आएका थिए । अस्पतालले स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनीसँगै अन्य करिब ४ जना पनि लुकिछिपी सीमाबाट नेपाल प्रवेश गरेका जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उनीहरुको खोजी भइरहेको जानकारी दिएको छ ।

नयाँ ३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

Advertisement