१२ घण्टामा २ लाख २२ हजारले छोडे काठमाडौँ

काठमाडौं – सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै उपत्यका छाड्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको १२ घण्टामा उपत्यकाका विभिन्न नाकाबाट २ लाख २२ हजार ४ सय ७ जना बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सरकारले सोमबारदेखि लामो दूरीका सवारी सञ्चालनमा रोक लगाएका कारण दुई दिनदेखि उपत्यकाबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य रुपमा बढेको हो। आइतबार १२ घण्टामा २ लाख २२ हजार ४ सय ७ जना विभिन्न नाका भएर बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाको जोखिम बढेको भन्दै सोमबारदेखि लामो दूरीका यात्रुबाहक सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने घोषणा गरेका थिए।

शनिबार उपत्यकाबाट २ लाख ६ हजार ३ सय ३९ जना बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ। ती यात्रु बाहिर जान २९ हजार ७३ वटा सवारी प्रयोग भएका थिए। बिहीबारसम्म काठमाडौं आउने र बाहिरिने यात्रुको संख्या करिब बराबर नै थियो। तर सरकारको उक्त निर्णयसँगै उपत्यका छाडेर गाउँ जानेको संख्यामा भारी वृद्धि भएको हो।

शनिबार १६ हजार सवारीसाधनमार्फत् ४८ हजार ७२ यात्रु काठमाडौं भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै शुक्रबार १८ हजार ५ सय ५४ सवारीसाधनमार्फत् १ लाख ८ हजार ४ सय ५८ यात्रुले उपत्यका छाडेका थिए। त्यस्तै १५ हजार १ सय ४० सवारीसाधनमार्फत् ८३ हजार १ सय ३९ यात्रु उपत्यका भित्रिएको तथ्यांक छ।

Advertisement