ग्यास नपाए ढुक्क भएर इन्डक्सन चुल्हो बाल्नुस् : कुलमान

काठमाडौं – कालोबजारी हुन थालेपछि खाना पकाउने एलपी ग्यासको हाहाकार छ । उपभोक्ताले मागेका बेला ग्यास नपाइरहेका बेला विज्ञहरुले भने ग्यासको विकल्पको रुपमा खाना पकाउने विद्युतीय उपकरण र चुल्हो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहित गर्न सुझाव दिएका छन् ।

नेपालमा लोडसेडिङ हटिसके पनि अधिकांश उपभोक्ता विद्युतको उल्लेख्य उपभोगमा अभ्यस्त छैनन् । बिजुलीको बिल महंगिने पीर गरेर विद्युतीय उपकरणहरु नचलाउने बानी हटाउन यो उपयुक्त समय भएको ऊर्जा मन्त्रालयका अधिकारीहरुको पनि मत छ ।

नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि भारतबाट आयात हुने ग्यासलाई विद्युतमार्फत विस्थापन गर्ने बताउँदै आएको छ । ग्यास अभाव भएका बेला उपभोक्तालाई आश्वस्त पारेर अघि बढ्न विज्ञहरुले नेपाल विद्युत प्राधिकरणलाई सुझाव दिएका हुन् ।

विद्युत प्राधिकरणले पनि उपभोक्ताले ढुक्क भएर विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोग गर्न सक्ने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उपभोक्तालाई ढुक्क भएर इन्डक्सन प्रयोग गर्न सुझाव दिन्छन् ।

‘हामीले यसअघिदेखि नै उपभोक्तालाई इन्डक्सनको प्रयोग बढाउनुस् भन्दै आएका छौं,’ उनले भने, ‘यो समयमा उपभोक्ताले विश्वस्त भएर प्रयोग थाल्नुभयो भने निरास हुनुपर्दैन ।’

अहिले जाडोको हिटर पनि प्रयोग हुन छाडेकाले विद्युत वितरण प्रणालीमा इन्डक्सनको लोडले समस्या नहुने घिसिङले बताए । ‘कतै कुनै फिडरमा ओभरलोड आयो भने पनि तुरुन्तै व्यवस्थापन गर्न सक्ने गरी तयारी अवस्थामा छौं,’ उनले भने, ‘हामीलाई बिजुलीको अभाव छैन, ग्यास नपाइए इन्डक्सनमा आउनुहोला ।’

Advertisement