चितवनमा ७२ घण्टाभित्रै कोरोना विशेष अस्पताल बनाइने

चितवन – चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाइने भएको छ ।

भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा आज (मंगलबार) विहान भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।

छलफलले ७२ घण्टा भित्रमै कोरोना विशेष अस्पताल बनाई सक्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोरोना संक्रमणको संभावित अवस्थालाई मध्यनजर गर्दै कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको नारायणी अनलाइनलाई जानकारी दिइन् । मेयर दाहालले भनिन्–‘ओपीडिसहितको कोरोना विशेष अस्पताल बनाइने छ, यसले अन्य क्षेत्रमा संक्रमण कम गराउन सक्छ ।’

मेयर दाहालले प्रदर्शनी केन्द्रमा तीन वटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको बताइन् । ‘कोरोना विशेष अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ, ७२ घण्टा भित्र अस्पताल तयार हुन्छ’–मेयर दाहालले नारायणी अनलाइनसंग भनिन् ।

अस्थायी रुपमा निर्माण गर्न लागिएको अस्पतालमा ७० बेड क्षमता हुनेछ । जसमा ५० बेड जनरल, १० बेड सघ कक्ष (आइसियु) र १० बेड (एचडियु)को रहने भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले स्थान छनौट भइसकेकाले भोलि (बुधबार)बाट नै उपकरणहरु जडान गरिने जानकारी दिए । उपकरणका लागि चितवनका अस्पतालहरुले केही सहयोग गर्नेछ भने प्रदेश सरकारबाट समेत बजेट माग गरिने डा.अधिकारीले बताए । उनले महानगरसंगै सबै संघसंस्थाहरुको सहयोगमा अस्पताल निर्माण गर्न लागिएको बताए । डा.अधिकारीले चितवनमा कोरोना शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने बताए । ‘यो रिफरल अस्पताल जस्तै बन्नेछ, चितवन देशकै मध्यभागमा भएकाले धेरै स्थानबाट बिरामी आउने सक्ने अवस्थालाई मध्यनजर गरी यसलाई तयार पारिने छ’–डा.अधिकारीले भने ।

चितवन प्रदर्शनी केन्द्र भरतपुर–१० स्थित जिल्ला समन्वय समिति समिति र नेपाल टेलिकमको छेउमा छ । चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्र चारै तिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले प्रदर्शनी केन्द्रलाई अस्पतालका लागि छनौट गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा अस्पताल बनाउन संघले सहयोग गरेको बताए ।

Advertisement