आज ४५ जनाको शरीरमा कोरोनाको खोप परिक्षण गरिँदै

अमेरिकी सरकारी अधिकारीहरूले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड १९ भाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षणमा आजदेखि शुरू भएको बताएका छन् ।

उक्त खोप आफूमाथि प्रयोग गर्न ४५ जना स्वस्थ स्वयंसेवी तयार भएका थिए । सोमवार पहिलो सहभागीलाई उक्त खोपको एक डोज दिएर परीक्षण शुरू गरिने बताइएको छ । सिएटलको वाशिंगटन स्वास्थ्य अनुसन्धान संस्थानमा भइरहेको यस परीक्षणलाई अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानहरूले आर्थिक सहयोग गरिरहेका छन् ।

संस्थानका एक अधिकारीले आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा सोमवारबाट परीक्षण शुरू गरिएको खुलासा गरेका हुन् । सार्वजनिक स्वास्थ्य अधिकारीहरूले कुनै पनि सम्भावित खोप पूर्ण रूपमा मान्य हुने गरी प्रयोगमा ल्याउने एक वर्षसम्म लाग्ने लाग्ने बताउँछन् ।

खोप परीक्षणबाट स्वयंसेवकहरू संक्रमित हुने कुनै सम्भावना नरहेको बताइएको छ । ‘खोपले कुनै चिन्ताजनक साइड इफेक्ट देखाउँदैन, ठूला परीक्षणको लागि सानो चरण पार गर्न यो परीक्षण सम्पन्न गर्न लागिएको हो,’ एक अधिकारीले बताए ।

अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले द्रुत गतिमा खोपको विकास गर्न जोड दिइरहेका छन् । केही दिनअघि उनले भनेका थिए, ‘कोरोनाविरुद्धको खोप तयार गर्ने काम धेरै छिटो अघि बढिरहेको छ ।’

Advertisement