नेतृत्वले गरेको फोहर एकजुट भएर सफा गर्नुपर्ने सिटौला समूहको निष्कर्ष

काठमाण्डाै – नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । सम्बोधनका क्रममा सिटौलाले अहिले काङ्ग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडि बढिरहेको टिप्पणी गर्नुभयो ।

नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै सिटौलाले भन्नुभयो, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ । एउटाले फोहर छर्दै हिँड्छ । एउटाले फूलको रस बटुल्दै हिँड्छ । एउटाको परोपकारी गुण छ । एउटाको ध्वंशकारी गुण छ ।’

प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै काङ्ग्रेसलाई परिवर्तनशील बनाउनुपर्ने बताउनुभयो । परिवर्तित काङ्ग्रेसको काँधमा कम्युनिस्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उहाँले आग्रह गनुभयो । आउँदाे निर्वाचनमा सफलता शिखरसम्म पुग्ने अर्जुनदृष्टिका साथ तयारी गर्न उहाँले आग्रह गर्नुभयो ।

नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्म क्रियाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताउनुभयो । नेतृत्वको सफलता अथवा असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो ।

महाधिवेशनको वातावरण बनाउने काम सभापति र महामन्त्रीको भएको थापाको भनाइ छ । जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो ।

थापाले भन्नुभयो, ‘महामन्त्री सचिवालयको प्रमुख हो । यस बेलामा पार्टीको महामन्त्रीले जिम्मा लिएर पार्टी कार्यालयमा गएर महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्ने हो । समायोजनको कुरा आयो, ३०/३२ जिल्लाबाहेक समायोजन भएन भनेर भन्न मिल्छ ? समायोजन हुन सकेको छैन भने सातै दिन २४ घण्टा नै पार्टी कार्यालय जानुपर्‍यो, त्यहाँ बस्नुपर्‍यो । प्रतिनिधि पठाएर काम गर्नुपर्‍यो । यति समयसम्म मलाई काम चाहिन्छ भन्नुपर्‍यो ।’

काठमाण्डाैकाे बत्तिसपुतलीमा भएको भेलामा दुई सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलामा नेताहरुले आफूहरु काङ्ग्रेसमा सुधार गर्दै अगाडि बढ्ने अभियानमा रहेको बताएका छन् ।

Advertisement