धरहरा पुनर्निर्माणकाे काम तिब्र गतिमा, १० औँ तला ढलान गर्ने तयारी

काठमाण्डाै – धरहरा पुनर्निर्माणकाे काम तिब्र गतिमा भैरहेको छ ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अत्याधुनिक २२ तले धरहरा पुनर्निर्माण गरिरहेको छ। पुनर्निर्माणकाे क्रममा रहेकाे धरहराको १० औँ तला ढलानको तयारी भइरहेको छ ।

धरहरा निर्माण गरिरहेको जीआईईटीसी रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यही हप्ता धरहराको १० औँ तलाको ढलान हुने जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले साेमबार धरहरा र रानीपोखरी पुनर्निर्माणको अवलोकन गर्नुभयो ।

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताउनुभयो ।

उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिपरिकाे क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रीका सल्लाहकारहरु र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्वनिर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

Advertisement