मुस्कुराउँदै बालुवाटार फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्मा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो । उहाँलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । १२ वर्ष अघि प्रधानमन्त्रीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनी स्वास्थ्य लाभपछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् । ‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्यसैले डिस्चार्ज गरेका हौं’ अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले भने ।

अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले हाँसेर हात हल्लाएका थिए ।

Advertisement