कञ्चनपुरको सिमानामा भारतको दादागिरी, ५० बिघा भूभाग भारततिर

कञ्‍चनपुर — तत्कालीन बैतडी जिल्ला पञ्चायतले कञ्चनपुरको सीमा क्षेत्रमा पूर्वसैनिकलाई बसोबास गराउने निर्णय गरेपछि दार्चुलाको लाली क्षेत्रका दिलराज पन्त भारतीय सेनाको जागिर छाडेर घर फर्किए । उनी हालको बेलौरी नगरपालिकाको भुडा क्षेत्रमा बसोबास गर्न थाले ।

त्यतिबेला उनले पाएको डेढ बिघा जमिन अहिले भारतीय क्षेत्रमा परेको छ । पछिल्लो पटक संयुक्त सीमा सर्भे टोलीले विगतको सीमाभन्दा निकै वर आएर पिल्लर गाड्न खोजेको छ । ‘यही सीमा रक्षाका लागि हामी चोर र डाँकाहरूसँग लडेर यहाँ बस्यौं,’ पन्त भन्छन्, ‘अहिले त्यही जमिन पनि भारतमा पर्ने देखिएको छ ।’

साविकको ३३ र ३४ नम्बर सीमास्तम्भको बीचमा पन्तसहित ४० परिवारको ५० बिघाभन्दा बढी जमिन छ । चौधर नालालाई सीमा मानिँदै आएकामा पछिल्लो पटक सर्भे टोलीले निकै वर सीमास्तम्भ गाड्न थालेको छ । यसरी सीमास्तम्भ गाड्दा स्थानीय बासिन्दाको जमिन मात्रै होइन, महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको नहरसमेत भारतीय भूभागमा परेको छ ।

‘हामीसँग लालपुर्जा छ, मालपोत तिरिरहेका छौं, पानीपोत पनि तिरिरहेका छौं,’ पन्त भन्छन्, ‘अहिले आएर यो जमिन भारतमा कसरी पर्‍यो, जसको रक्षाका लागि हामीलाई बसाइयो, त्यही जमिन भारतमा कसरी हालियो ।’ उनका अनुसार गत साता भारतीय सुरक्षाकर्मी (एसएसबी) सहितको टोलीले नेपालतर्फको दर्ता जमिनमै सीमास्तम्भ निर्माणका लागि खाल्डो खनेको छ । ३३ र ३४ नम्बर सीमास्तम्भको बीचमा खाल्डाहरू खनिएका हुन् ।

खेमराज पन्तको पनि २०२८ मा बुबा जयदत्त पन्तले पाएको आधा बिघा जमिन अहिले भारतमा परेको छ । जयदत्त दिलराजसँगै २०२८ मा पूर्वसैनिकलाई सीमामा बसाउन थालेपछि यहाँ आएका हुन् । उनले पनि डेढ बिघा जमिन पाएका थिए । ‘सुरुमा चार बिघा दिने भनिएको थियो, २०५४ मा नापी हुंँदा डेढ बिघा मात्रै दिइएको हो,’ खेमराजले भने, ‘सरकारले यसरी दिएको जमिनमा अहिले संयुक्त टोलीले पिल्लर हाल्दै छ ।’

बेलौरी नगरपालिका १० भुडाका बलिराम चौधरीको पनि अढाई बिघा जमिन पूरै भारततर्फ परेको छ । ‘भारतीय भूभाग थियो भने हामीलाई कसरी लालपुर्जा दिइयो, अनि भारतीय भूभागमै नहर कसरी निर्माण भयो ? उनले सोधे । उनका अनुसार ४० भन्दा बढी परिवारको ५ कट्ठादेखि दुई/अढाई बिघासम्मको लालपुर्जा भएको जमिन भारतमा जाने देखिएको छ ।

भुडामा देखिएको विवादपछि तत्कालका लागि सर्भेको काम स्थगित भएको छ । स्थानीयले विरोध जनाएपछि संयुक्त टोलीले काम स्थगित गरेको हो । ‘सीमामा विवाद देखिएपछि काम स्थगित भएको छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने, ‘स्थानीयले दर्ता जमिन भारततिर गएकाले नक्सा सच्याउनुपर्ने माग गरेका छन्, ज्ञापनपत्र पनि बुझाएका छन् ।’

उनका अनुसार बेलौरी नगरपालिकामा गत साता भएको छलफलमा काम रोक्ने सहमति भएको छ । स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् । उनीहरूले सरकारले भारतसँग छलफल गरेर नक्सा सच्याउनुपर्ने माग राखेका छन् । संयुक्त सर्भे टोलीमा रहेका नापी कार्यालय कैलालीका प्रमुख सुदर्शन धामीका अनुसार संयुक्त टोलीले बेलडाडीको झिलमिलादेखि सर्भेको काम सुरु गरेको थियो । जसमा जोर पिलर भारतले र बिजोर नेपालले मर्मत तथा निर्माण गर्नॅपर्ने थियो । सोही क्रममा ७८२ को सहायक पिलर १ र २ भुडामा निर्माण गर्ने बेला विवाद भएको हो ।

धामीका अनुसार पछिल्लो पटक स्ट्रिप नक्साअनुसार नेपालको दर्ता जमिनमै सीमास्तम्भ देखिएको छ । विगतमा खोलानालालाई सीमा मानिँदै आएकामा पछिल्लो पटक दुई देशबीचको सहमतिअनुसार संयुक्त टोलीले नक्सामा भएका तथा फिल्डमा नभएका सीमास्तम्भ निर्माण गर्ने सहमति भएको उनले बताए । ‘पुर्जा, नक्सा सबै भएको दर्ता जमिन छ तर स्ट्रिप नक्साले त्यसमै सीमास्तम्भ देखाएको छ,’ धामीले भने, ‘भोगचलन गरिरहेको जमिन उतापट्टि जान थालेपछि स्थानीय आक्रोशित भएका छन् ।’ यस क्षेत्रमा ४ नं. नापी टोलीले फागुन १ देखि नापीको काम सुरु गरेको हो । सर्भेका क्रममा पुनर्वास र बेलौरीमा भारतीय पक्षले कब्जा गरेका थुप्रै जमिन नेपालतर्फ परेको धामीले बताए ।

Advertisement