पानीको जारभित्र जिउँदो जुका भेटियो

काठमाडौं – ‘प्रशोधित पिउने पानी’को जारभित्रै जिउँदो जुका भेटिएको छ ।

बनस्थलीको रीता खाजा घरका सञ्चालक केदारनाथले पिउनयोग्य हुने भन्दै जारको पानी मगाएका थिए । अक्वा नाइन्टी नाइन (अक्वा ९९) नाम रहेको जारको पानी उनले लामो समयदेखि प्रयोग गर्ने गरेका थिए र बिहीबार पनि त्यही पानी मगाएका थिए । पहिले पहिले उनले जारको पानीलाई त्यति नियालेर हेर्ने गरेका पनि थिएनन् । तर बिहीबार भने सिल नै नतोडिएको पानीको जारभित्र जिउँदो जुका हिँडिरहेको भेटेका छन् ।

सरकारी स्वामित्वको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उद्योगको पानी हो अक्वा ९९ । त्रिकोण वेभरेज इन्डिष्ट्रिज को उत्पादन रहेको प्रशोधित पिउने पानी हो हो । ४१४४३÷२०४३ दर्ता नम्बर रहेको त्रिकोण वेभरेजको सिल नतोडिएको पानीको जारभित्रै जिउँदो जुका भेटिएपछि केदारनाथले कम्पनीका मान्छेलाई पनि सम्पर्क गरेका थिए । तर कम्पनीका मान्छेले भने हल्ला नगर्न आग्रह गर्दै एकैछिनमा आउने बताए ।

‘प्रशोधित पिउने पानी’को जारभित्रै जिउँदो जुका भेटिएपछि उपत्यका लगायतका स्थानमा उपलब्ध हुने जारको पानी कत्तिको स्वस्थकर छ भनेर प्रश्न गर्नुपर्ने बेला भएको छ । प्रशोधन गरेर मात्रै बजारमा पठाउनुपर्ने पानीमा कोलिफर्म फ्रि हुनुपर्छ भने अन्य अखाद्य तत्व पनि प्रशोधन गेर हटाउनुपर्छ । तर बालाजु औद्योगिक क्षेत्र भित्रैबाट उत्पादित पानीमै जिउँदो जुका भेटिएपछि उपत्यकाको पिउने पानीको दयनीय अवस्था उजागार हुन्छ ।

पानीमा जुका भेटिएपछि बिहीबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बनस्थलीबाट उक्त पानी जफत गरी विभागमा लगेको छ । अब उक्त पानीको थप परीक्षण गरिने र शुक्रबार नै उद्योगमा सिलबन्दी गर्ने विभागले बताएको छ ।

Advertisement