पूर्व डिआइजी रमेश खरेल द्वारा भ्रष्टाचारविरूद्ध अभियान घोषणा

पूर्वडिआइजी रमेश खरेलले भ्रष्टाचारविरूद्ध सुशासन अभियान घोषणा गरेका छन्।

बिहीबार काठमाडौंमा कार्यक्रम गरेर खरेल नेतृत्वको समूहले देशमा भ्रष्टाचार अन्त्यका लागि देशव्यापी नागरिक खबरदारी गर्न अभियान घोषणा गरेका हुन्।

उक्त अभियानको नाम ‘हाम्रो नेपाल सुशासन अभियान’ दिइएको छ भने नारा सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं भन्ने छ। संयोजक खरेल छन् भने उनलाई देवेन्द्रप्रसाद सिटौला, नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठलगायतले साथ दिएका छन्।

उक्त अभियान अन्तर्गत देशैभर नागरिक अधिकार र नागरिकका स्वतन्त्रता तथा समानताका हकको प्रत्याभुतिका लागि जागरण अभियान सञ्चालन गर्ने खरेलले बताए।

‘देशमा परिवर्तन भयो, संविधान र कानुन आयो तर कार्यान्वयन गर्ने व्यक्ति हामीले पाएनौं,’ घोषणा सभामा खरेलले भने, ‘विभिन्न काण्डहरू बाहिर आएका छन्। ललितानिवास, ३३ किलो सुन, सेक्युरिटी प्रिण्टिङ काण्डहरू हामीले सुन्यौं। जसले जनताको सेवा गर्छु भनेका थिए उनीहरू नै ती काण्डमा मुछिएको देख्यौं। नेतादेखि पुलिससम्मले हामीलाई धोका दिए।’

अभियानको अवधारणा पत्रमा उल्लेख भए अनुसार नागरिकहरुले तिरेको करमाथि भ्रष्टाचार र दुरुपयोग बिरुद्द जिल्ला–जिल्लामा सचेतना अभियान चलाइनेछ। ‘यो अभियानले राष्ट्रियता, लोकतन्त्र र सुशासनका मुलभूत मान्यता र आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्छ,’ अवधारणापत्रमा भनिएको छ।

खरेलले २०७४ सालमा डिआइजीबाट राजीनामा दिएका थिए। आइजीपी सर्वेन्द्र खनाल भएपछि असंतुष्टि जनाउँदै उनले त्यसबेला राजीनामा दिएका हुन्।

Advertisement