टुटल र पठाओलाई कसैले रोक्न सक्दैन : यातायातमन्त्री नेम्बाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले टुटल र पठाओलाई कसैले रोक्न नसक्ने बताएका छन्।

संविधानको अनुसूचीमा पारबहान र यातायात व्यवस्थापन गर्ने प्रदेशको एक्लौटी अधिकार रहेको भन्दै उनले बागमती प्रदेश सरकारले बनाएको ऐन टुटल र पठाओ सेवा सञ्चालनमा आकर्षित हुने बताए।

‘टुटल र पठाओलाई कसले रोक्न सक्छ?’, मन्त्री नेम्बाङले भने, ‘संविधानले निर्देशित गरेका कानुनसम्मत ऐन नियमहरू बनाउँदै सवारी व्यवस्थापन गर्ने व्यवस्थाअनुसार प्रदेशले यातायात व्यवस्था ऐन नै बनाइसकेको छ, राजपत्रमा प्रकाशित नै गरिसक्यो।’

बागमती प्रदेश संसदले बनाएको यातायात व्यवस्था ऐन-२०७५, गत वर्षको माघ १८ गते नै प्रदेशको राजपत्रमा प्रकाशन पनि भइसकेको छ। त्यसपछि ऐनले कानुनको रूप लिएको छ। उक्त ऐनले गैरव्यवसायिक प्रयोजनका लागि दर्ता-प्रमाण प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्रु बिमा गरी यात्रु ओसार-पसार गर्न सक्ने व्यवस्था गरेको छ।

मन्त्री नेम्बाङले पनि प्रदेशको उक्त ऐनलाई कुल्चिन नसक्ने सङ्केत गरेका छन्। उनले भने, ‘प्रदेशको यातायात व्यवस्था ऐनलाई पनि हेर्नुपर्‍यो।’ २०७२ सालमा गएको भूकम्पपछि टुटल र पठाओले यातायात सेवा सञ्चालन गरेको हो।

मोटरसाइकलबाट दुवै कम्पनीले सेवा दिँदै आएको हो। तर, ट्याक्सी व्यवसायीहरूले चर्को विरोध गर्दै आएका छन्। ट्याक्सीले भन्दा निक्कै सस्तोमा सेवा टुटल र पठाओले दिएकाले सर्वसाधारणले भने टुटल र पठाओको सेवा बन्द गर्न नहुने बताउँदै आएका छन्।

Advertisement