दर्शकले मन पराए ‘चपली हाइट ३’ को टिजर, यूट्युब ट्रेन्डिङमा

यस वर्षको आशातित फिल्म हो, ‘चपली हाइट ३’ । हिट फिल्मको सिरिज भएका कारण यो फिल्मप्रति अपेक्षा उच्च छ । अहिले ब्रान्ड नामका फिल्मलाई मात्र दर्शकले विश्वास गरिरहेको अवस्थामा यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । नेपालमा सस्पेन्स-थ्रिलर जनरामा विरलै फिल्म निर्माण हुने भएकाले पनि फिल्मप्रति दर्शकमा चासो र उत्सुकता छ ।

यसबीच, शुक्रवार निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गर्‍यो । सस्पेन्स-थ्रिलर शैलीमा तयार पारिएको टिजर दर्शकलाई मन परेको छ । यो समाचार तयार पार्दासम्म सफलताको मानक मानिने नेपालको यूट्युब ट्रेन्डिङको १६औं स्थानमा रहेको टिजरलाई साढे १ लाखभन्दा बढीले हेरिसकेका छन् । साढे ४ हजारको आसपास लाइक्स मिलेको टिजरमा २ सय बढी कमेन्ट प्राप्त छन् ।

टिजर हेरेपछि दर्शकहरुले फिल्म राम्रो बनेको हुनसक्ने विश्वास व्यक्त गरेका छन् । सविता विष्ट यूट्युबको कमेन्ट बक्समा लेख्छिन्, ‘यस्तो पो हुनुपर्छ टिजर । नेक्स्ट लेभल ।’ दिलजित बोहोराले टिजर प्रोमिसिङ रहेको उल्लेख गरेका छन् । प्रायःलाई टिजरको सस्पेन्स पाटो र अर्पण थापाको लुक्स मन परेको छ । टिजरले दर्शकमा फिल्मप्रति अपेक्षा बढाएको कमेन्ट बक्स हेर्दा थाहा हुन्छ ।

निकेश खड्का निर्देशक ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । भने, अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको निर्माण अर्जुन कुमार फिल्मस्को ब्यानरमा भएको हो । निर्देशक निकेश र निर्माता अर्जुन कुमारबीच यसअघि फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नाममा दुई फिल्म बनाउँदैछन् । यी फिल्मका नाम टिजरमा समेत राखिएको छ ।

Advertisement