कुलमानको अर्को सफलता : नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट निर्माण

काठमाडौं – देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ ।

ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका रुपमा लिइएको सो परियोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि ऊर्जा मिश्रणको अवधारणामा समेत देखिने गरी काम हुनेछ ।

आयोजनाको कूल २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत् आगामी वैशाखभित्र उत्पादन गर्ने गरी काम भइरहेको छ । यस्तै थप १० मेगावाटका लागि भने जग्गा छनोट तथा अन्य प्राविधिक काम जारी रहेको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रका नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन गर्ने गरी व्यवस्थापन गरिएको छ ।

विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र विद्युत् गृह नजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।
कुलमान घिसिङ
देविघाट विद्युत्गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६\३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय हरराज न्यौपाने र बज्रभूषण चौधरीलगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको प्राधिकरणको भनाइ छ ।

“सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाखभित्रमा उत्पादन हुने देखिन्छ, प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएका कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न हुँदैन, त्यसैले सञ्चालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने आवश्यक व्यवस्था गर्नुहोस्”, घिसिङले आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै भन्नुभयो ।

“अझै तीन महिना विद्युत्को माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट विद्युत् जसरी पनि ग्रिडमा जोड्नुपर्छ, यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न प्राधिकरण तयार रहेको उहाँको भनाइ छ ।

सम्पूर्ण उपकरण आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिले वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

त्यतिबेला एक वर्षभित्रमा निर्माणसक्ने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको थियो ।

प्राधिकरणको आफ्नै स्वामित्वमा रहेका रुख हटाउनसमेत लामो समय लागेको थियो । ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गरेका कारण थप जटिलता पैदा भयो । यस्तै परामर्शदाताले पटकपटक पुनरावलोकन गरी स्वीकृत गर्न लामो समय लगाएका कारण जटिलता पैदा भएको थियो । आयोजना प्रमुख विकासबहादुर रघुवंशीका अनुसार, डिजाइनर स्पेन र परामर्शदाता जर्मनीमा बस्ने तर साइटमा परिचालित नभइदिँदा डिजाइनलाई अन्तिम रुप दिन ढिलाइ भएको थियो ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग करिब रु चार अर्बमा ठेक्का सम्झौता गरिएको थियो ।

सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्नेछ । कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा आपूर्ति गर्नुपर्नेछ ।

जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरेको थियो । तर परामर्शदाताले डिजाइन स्वीकृतिमा ढिलाइ र रेट वृद्धिको माग गरेपछि फिस्नरसँगको सम्झौताको म्याद थपिएको थिएन । हाल एनइए इञ्जिनीयरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ । प्लान्ट सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्नेछ ।

काठमाडौँबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ । सो प्रणाली आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमे आयोजनाको जलाशयमा दिउँसो पानी सञ्चित गर्न सकिने छ । – रासस

Advertisement