फागुन २८ मा पार्टी एकीकरण गर्दै राप्रपा र राप्रपा संयुक्त

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने भएको छ । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले हस्ताक्षर गर्नुभएको छ ।

एकताको घोषणासभा फागुन २८ गते हुनेछ । एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति भएको छ ।

नयाँ दलको झण्डा अहिले राप्रपाको झण्डा प्रयोग गरिने तर चुनाव चिह्न भने पछि तय गर्ने सहमति भएको छ । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाँडफाँडलगायत दैनिक कार्य सञ्चालन तीनजना अध्यक्षहरुको सहमतिमा गर्ने सहमति भएको छ ।

पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमल्सिना तथा राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा रहेको कार्यदल समेत गठन गरिएको छ ।

एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने सहमति भएको छ ।

दुई राप्रपाबीच दुबै दलको विधानलाई मिलाएर एकीकृत विधान बनाउने सहमति भएको छ । एकीकरणसम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका सम्झाैतालाई मान्यता दिइनेछ ।

तत्कालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । विधान सञ्चालनमा कुनै बाधा पर्न गएमा तीनजना अध्यक्षहरुको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ ।

Advertisement